सिनेमामा पनि सिण्डिकेट स्वाहा

अहिले देशमा सिण्डिकेट तोड्ने लहर छ । यही मेसोमा हलमालिकलाई पनि साइजमा ल्याउने काम भएको छ । उनीहरूको सिण्डिकेटविरुद्ध आन्दोलनमा होमिने तयारी थालेका निर्माता संघ र हलमालिकबीच १६ घण्टा लामो गलफत्तीपछि कुरा मिलेको छ ।

आइतबार निर्माता र चलचित्र संघबीचको वार्ता बिहान आठ बजेदेखि नै शुरु भए पनि मध्यराति १२ बजे मात्र सहमतिमा पुग्न सके । निर्माता संघका वरिष्ठ उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा भुवन केसी, दीपकराज गिरी, निश्चल बस्नेत, छविराज ओझा, अर्जुनराज डंगोल थिए भने हलवालातर्फबाट वार्ता कमिटीको संयोजनचाहिँ भास्कर ढुंगानाले गरेका थिए । उक्त समितिमा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, त्रिरत्न मानन्धरहरू थिए । सिंगल थिएटरवाला हलहरू एकातिर र मल्टिपलवालाहरू अर्काेतिर हुँदा वार्ता लम्बिएको वार्ता कमिटीका एक सदस्यले जनआस्थालाई सुनाए । चलचित्र संघ नै गुटगत रोगको सिकार भएका कारण वार्ता लम्बिएको हो । आइतबार दिउँसो राजधानीका गोपीकृष्ण, गुण, अष्टनारायणलगायत केही सिनेमा हलले आफूहरूलाई पनि मल्टिप्लेक्स हलको दर्जामा राख्न दबाब दिएपछि वार्ता भंग भएको एक सदस्यले सुनाए । बीचमा भाँडिएको वार्त साँझबाट पुनः सुचारु भएको थियो ।

वार्ता भंग भएसँगै आकाश अधिकारी अध्यक्ष रहेको निर्माता संघ, सुचित्रा श्रेष्ठ अध्यक्ष रहेको चलचित्र निर्देशक समाज, रामकेशर बोगटी अध्यक्ष रहेको चलचित्र कलाकार संघ, पुष्कर लामा अध्यक्ष रहेको चलचित्र प्राविधिक संघलगायत १६ संघसंस्था हलवालाको सिण्डिकेटविरुद्ध एक जुट हुने भएपछि हलमालिकहरू ट्र्याकमा आएको बताइन्छ । अबउप्रान्त देशभरका सबै सिंगल थिएटर हलबाट निर्माताले ५० प्रतिशत सेयर पाउने भएका छन् । सिंगल थिएटरले जति नै शेयर मल्टिप्लेक्स हलहरूले दिन नसक्ने तर्क तेस्र्याएपछि वार्ता लम्बिएको थियो । लामो समयसम्म चलेको रस्साकस्सी पछाडि मल्टिप्लेक्स हलबाट पहिलो साता ५० प्रतिशत, दोस्रो साता ४५ प्रतिशत, तेस्रो साता ४० प्रतिशत शेयर निर्माताहरूलाई दिने हलमालिकहरूको सहमति पछाडि वार्ता मिलेको बताइँदै छ । हलवालाको सिण्डिकेटविरुद्ध ३१ जना निर्माताले समिति बनाएर दुई वटा एजेण्डाका साथ आन्दोलनमा होमिने निर्णय गरेका थिए । जेठ एक गतेदेखि विधिवत् आन्दोलन थाल्ने र ४ गतेदेखि हलमा चलचित्र नचलाउने उद्घोष पछाडि झस्किएका हलमालिकहरूको सिण्डिकेटसमेत यो पटकबाट तोडिएको छ ।

टिप्पणीहरू