एप्पलका ड्रोन क्यामरा पनि सीमा वारपार

एप्पलका ड्रोन क्यामरा पनि सीमा वारपार

सशस्त्र प्रहरी बलले धनुषामा आठ वटा ड्रोन क्यामरा बरामद गरेको छ । सशस्त्रको २ नम्बर प्रदेश बाहिनीबाट खटिएको इस्कावर्ड टिमले ती क्यामरा बरामद गरेको हो । एप्पल ब्राण्डका ती क्यामरा ल्याउनमा नामुद तस्करको रुपमा परिचित बिन्देश्वर नायकको हात भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

महोत्तरी मटियानी घर भएका नायकले धनुषाका विभिन्न नाकाबाट तस्करी धन्दा चलाउँदै आएका छन् । उनले लामो समयदेखि धनुषास्थित सशस्त्र प्रहरीका घुमुवाहरूलाई नै सेटिङ्ग मिलाएर ड्रोन क्यामराको तस्करी गर्दै आएको सशस्त्र प्रहरी स्रोतको दाबी छ ।

नेपालमा झण्डै डेढ लाख रुपैयाँ पर्ने उक्त क्यामरा भारतीय बजारमा भने तीन लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । तस्करी गर्दै गरेको अवस्थामा ड्रोन क्यामरा पक्राउ परेको यो नै पहिलो पटक हो ।

सशस्त्र प्रहरी स्रोतका अनुसार डिआईजी गणेश ठाडा मगर २ नम्बर प्रदेश आएपछि दुई महिनाको अवधिमा दश करोड रुपैयाँभन्दा बढीको तस्करीका सामान बरामद भइसकेको छ ।

टिप्पणीहरू