द्यौसी–भैलोले निम्त्याएको बज्रपात, पहिलो चेपाङ गायक गम्भीर अवस्थामा

द्यौसी–भैलोले निम्त्याएको बज्रपात, पहिलो चेपाङ गायक गम्भीर अवस्थामा

चेपाङ समुदायकै पहिलो गायक ४२ वर्षे रविनकुमार चेपाङ गम्भीर घाइते भएका छन् । द्यौसी भैलोसहितको सांस्कृतिक कार्यक्रम सकेर पूर्वी मकवानपुरको बकैया गाउँपालिकाबाट फर्कने क्रममा अजिङ्रे भन्ने स्थानमा बस पल्टिँदा चेपाङ गम्भीर घाइते भएका हुन् । गए राति बागमती प्रदेश ०३–००१ ख १३०९ नम्बरको बस पल्टेपछि गायक चेपाङसहितका कलाकारहरु घाइते भएका छन् ।

शुक्रबार मध्यरातमा भएको घटनापछि घाइतेहरुलाई तत्काल चुरेहिल अस्पताल लगिएको थियो । तर, अवस्था गम्भीर रहेपछि गायक चेपाङसहित केही घाइतेलाई चितवन मेडिकल कलेज भरतपुर लगियो । आजै बिहानै उनको शल्यक्रिया भएको चेपाङका छोरा पवनकुमारले जानकारी दिएका छन् ।

शल्यक्रिया भएको ६ घण्टा बितिसक्दा पनि गायकको होस आउन सकेको छैन । बाहिर शरीरमा घाउचोट नदेखिए पनि पेटभित्र फियो र फोक्सोमा असर पुगेको चिकित्सकले बताएका छन् । शल्यक्रिया गरेर क्षतिपुगेको फियो निकालिएको छ भने फोक्सोमा समेत कृत्रिम नली राखेर भेन्टिलेटरमा उपचार जारी राखिएको छ ।

चिकित्सकले बुबाको शरीरबाट फियो निकाले पनि रक्तचाप निकै कम रहेको, सुगरको मात्रा बढी देखिएको र नियमोनियाँ समेत देखिएको छोरा पवनकुमारले बताए । घटनापछि फियोमा पुगेको चोटका कारण पेटमा धेरै रगत जमेका कारण तत्काल शल्यक्रिया गरिएको अस्पतालले बताएको छ ।

राक्सिराङ गाउँपालिका ३ लावती घर भएका गायक चेपाङले २०५२ सालमा ‘लेचुरिबन साइली हो मनहरी बजाराङ’ बोलको चेपाङ भाषाको गीत गाएर रेडियो नेपालको स्वर परीक्षा पास गरेका हुन् । उनका दर्जनौं गीतहरु बजारमा आएका छन् ।

आर्थिक अभावका कारण उनी गाउँमै बसेर सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आएका थिए । हिजो चेपाङ लोकदोहोरी गीत प्रतिष्ठान मकवानपुर शाखा र सृजना कला केन्द्रले संयुक्त रुपमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम तथा द्यौसी–भैलो कार्यक्रममा सरिक हुन टोलीसहित बकैयास्थित हात्तीसुँढे पुगेका थिए ।

टिप्पणीहरू