​यतातिर अझै यस्तो अन्धविश्वास

प्रकृतिको आफ्नै गति छ । कोही मानिसको आग्रह–पूर्वाग्रहले चल्ने, नचल्ने होइन । सूर्य उदाउने–अस्ताउने समय मान्छेको बुताले परिवर्तन गर्न नसक्ने भएझैं हावा लाग्ने, पानी पर्ने कुरा पनि हाम्रो चाहनाले हुँदैन । तैपनि कतिपय मानिस अन्धविश्वासकै पछि लागिरहेका छन् । बर्सेनि वर्षा भएजस्तै खडेरी पनि लाग्छ नै ! खडेरीका बेला पानी पार्ने नाममा पूजा गर्ने चलन कायमै छ ठाउँठाउँमा ।

नवलपुरको गैंडाकोट–८ मा गत शनिबार केही मानिस मिलेर सन्सारी माईको पूजा गरे । जंगलमा पानी टंकीतिर गई बाख्रा काटेर प्रसाद खाए । विगतदेखि नै कुरीति एवं रुढिवादले जरा गाडेको तथा जातीय छुवाछुत, फुकफाक आदि अहिले पनि भइरहने ठाउँमा यस्तो पूजाआजा हुनु असामान्य नहोला तर अन्यत्रका लागि अचम्मकै कुरा हो कि यस्तो अपुष्ट हावादारी चलनलाई मान्छेले अझै पछ्याउनु ! अन्धविश्वास मात्र होइन, कहीँ कसैको घरमा बिहे, व्रतबन्ध, बर्थ डे आदि मनाउँदा छरछिमेकीलाई सुत्नै डिस्टर्ब हुनेगरी आधा रातसम्म ठूलो स्पिकरमा गीत घन्काउँदै हो–हल्ला गर्ने प्रवृत्तिसमेत हाबी छ यता । 

पानी परोस् भनी केही अघि वैशाखमै चितवनको शक्तिखोरमा पनि ‘सन्सारी माई’को पूजा गरेको पाइएको थियो । यसरी रुढिवादमा रुमल्लिनेहरू देख्दा दया लाग्छ । कुनै पनि भगवानको पूजाआजा, प्रार्थना गरेर सुख, समृद्धि मिल्छ भन्ठान्नु मान्छेको अज्ञानता नै हो । यज्ञ–महायज्ञ, पुराण आदि गर्दा पण्डित्याइँ गर्नेलाई फाइदा हुन्छ । त्यस्तै फाइदा लुट्ने छट्टुहरूको इसारामा अझै कठपुतलीझैं नाचिरहेछन् कैयौं मानिस तथाकथित धर्म संस्कारको नाममा । कहिले आउला यिनको बुद्धि ? 

– अभय कँडेल 

टिप्पणीहरू