भाइटीकाको शुभसाइत बिहान ११:०२ बजे,तर दिनभर लगाउन मिल्ने

भाइटीकाको शुभसाइत बिहान ११:०२ बजे,तर दिनभर लगाउन मिल्ने

हिन्दूधर्मावलम्वीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको अन्तिम दिन आज भाइटीका लगाईंदैछ । दिदीबहिनीहरुले दाजुभाइको दीर्घायु,सुस्वास्थ्य एवम् प्रगतिको कामना गर्दै भाइतिहार मनाउन लागिएको हो ।

आज दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र गलामा सयपत्री,मखमली र गोदावरी फूलको माला लगाइदिने गर्छन् । साथै, धार्मिक विधिअनुसार मण्डप बनाएर अष्टचिरञ्जिवी, यमराज र यमुनाको पूजा गरी दाजुभाइका शत्रु नाश होउन् भन्दै तेलको घेरा हालेर मूलढोकामा ओखर फुटाउने गरिन्छ ।

त्यसैगरी दाजुभाइको कान र कपाल नदुखोस् र चिन्तामुक्त होउन् भन्दै टीकाअघि कान र कपालमा तेल लगाइदिने प्रचलनसमेत छ । साइतमा दाजुभाइलाई पूजा गरेर टिका लगाएपछि सगुन,मिठाई, ओखर,कटुस,सेलरोटीलगायतका विभिन्न परिकार दिदीबहिनीले दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसारको दक्षिणा र कोसेलीपात दिन्छन् ।

पौराणिक मान्यताअनुसार यमराजकी बहिनी यमुनाले यमराजलाई टीका लगाएर दीर्घायुको कामना गरेको सम्झनामा भाइटीका लगाउन थालिएको हो । आफ्ना दिदीबहिनी नहुनेहरुले भने विभिन्न मठ मन्दिरमा गएर टीका लगाउने गर्छन् । काठमाडौंमा एक दिन मात्र रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर खुल्छ । जहाँ दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले टीका लगाउँछन् ।

यो वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर २ मीनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णाक समितिले जनाएको छ । समितिका अनुसार यस पटक दाजुभाइले पूर्व दिशातर्फ फर्केर टीका थाप्नु राम्रो हुन्छ । आज पूरै दिन भातृद्वितिया तिथि भएकाले दिनभर टीका थाप्न र लगाइदिन शुभ रहेको छ ।

टिप्पणीहरू