चीनभरि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा

चीनभरि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा

चीनको केन्द्रीय प्रचार विभाग र चिनियाँ अन्तर्राष्ट्रिय टेलिभिजन कर्पोरेशनद्वारा निर्मित ‘रेकर्ड द सिल्क रोड’ नामक तीन भागको वृत्तचित्रमा नेपालको पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई समेत समेटिएको छ । उक्त वृत्तचित्र मंगलबारदेखि बिहीबारसम्म चीनको सीसीटीभी–१० च्यानलमा प्रशारण भइसकेको छ ।

प्रशारित वृत्तचित्र हेरेपछि विदेशीहरूको नजरमा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ले विश्वका केही क्षेत्रमा सकारात्मक र उत्साहजनक परिवर्तनहरू देखापर्न थालेको निश्कर्ष निस्किएको बताइन्छ । बीआरआईका कारण मानवजातिको साझा भविष्य र उन्नत समुदाय निर्माणमा ठूलो महत्व रहेको सन्देश समेत प्रशारण भएको छ ।

वृत्तचित्रमा नेपालको पोखरास्थित निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल परियोजना चीनको प्रमुख प्रचार परियोजनाहरुमध्ये एक हुनु छिमेकी नेपालको निम्तिसमेत सुखद् विषय बनेको छ । चिनियाँ सहयोगमा निर्माण भइरहेको उक्त परियोजनालाई चीनले निकै महत्व दिएको वृत्तचित्रको निर्माण र प्रशारणबाट समेत प्रमाणित भएको नेपाल चीन सम्बन्धका जानकारहरु बताउँछन् ।

चिनियाँ समाचार स्रोतका अनुसार सीसीटीभी टोलीले उक्त विमानस्थल छायाँकनको निम्ति दुई वर्षअघि परियोजना साइटको भ्रमण गरेको थियो । जतिबेला परियोजना भर्खर शुरु भएको थियो । हाल अन्तर्राष्ट्रिय टेलिभिजनबाट प्रशारित उक्त वृत्तचित्र चीनका अन्य १० वटा घरेलु टेलिभिजनहरुले समेत प्रशारण गर्ने भएका छन् ।

टिप्पणीहरू