​उस्तै–उस्तै प्रधानमन्त्रीहरू

यसपालि जनकपुरमा अचम्मै भयो । नेपालका प्रधानमन्त्री श्री खड्गप्रसाद शर्मा ओली र भारतका प्रधानमन्त्री श्री नरेन्द्र दामोदरदास मोदी एउटै भेषभुषामा प्रकट हुनुभयो । दुवै प्रधानमन्त्री एउटै मञ्चमा आसीन हुँदा धेरैले त छुट्याउनै सकेनन् आखिर केपी ओली कुन, नरेन्द्र मोदी कुन । दुवै उस्तै । 

दुवै जना उस्तै–उस्तै देखिनु सानो कुरा होइन । केपी ओली र नरेन्द्र मोदी दुवैजना उस्तै देखिनु कहाँ सानो कुरा हुन्छ ? उहाँहरू दुवै जना उस्तै–उस्तै त कदापि हुनुहुन्न । तर, भनेर के गर्नु । जनकपुरमा सबैले उस्तै देखे । 

उहाँहरू दुवैजना एउटै मञ्चमा बस्नुभएको फोटो देखेर भजनलालले सोधेको थियो, ‘ए पासा ! भारतबाट कति जना नरेन्द्र मोदी आएको हँ ?’
मैले भनें, ‘एउटै त हो नि ! भारतमा नरेन्द्र मोदी भएकै एउटै मात्र हो । अहिले त्यही आएको हो ।’

‘अनि नेपाल छिरेपछि दुइटा भएको ?’ भजनलालले पूरक प्रश्न राख्यो । 

वास्तवमा त्यसको उत्तर मसँग थिएन । किनभने मलाई थाहा छ, नरेन्द्र मोदी दुइटा हुनुहुन्न । न खड्ग ओली नै दुइटा हुनुहुन्छ । तर, के भएछ कुन्नि, मोदीको जनकपुर भ्रमणपछि मान्छेहरू भनिरहेका छन्– यो दुनियाँमा कि नरेन्द्र मोदी दुइटा छन्, कि खड्ग ओली । अब यी नादानहरूलाई कसले सम्झाउने ? 

टिप्पणीहरू