खुमानको अझै फैलियो ख्याती

खुमानको अझै फैलियो ख्याती

गीतमा अझै जाति चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी ‘स्टार इन्टरनेशनल अवार्ड–२०२१’ बाट सम्मानित भएका छन् । अधिकारीले टोपी किनेको गीतबाट ‘द बेष्ट पपुलर सिंगर अफ द इयर’ विधाको उपाधी हात पारेका हुन् ।

शिवदर्शन फिल्मसमार्फत अघिल्लो बर्ष सार्वजनिक गरिएको टोपी किनेको गीतमा खुमन अधिकारी र कल्पना दाहालको स्वर सुन्न पाइन्छ । जसलाई युट्युबमा साढे ३२ लाख भ्यूज प्राप्त भएको छ । सोही गीतबाट अधिकारी द बेष्ट पपुलर सिंगर अफ द इयर’को उपाधि हात पार्न सफल भएका हुन् । राजधानीको र्याडिसन होटलमा आयोजित कार्यक्रममा अधिकारीलाई रक्षा मन्त्री मीनेन्द्र रिजाल,दक्ष इन्टरनेशनलका अध्यक्ष टेकराज पाण्डे,वरिष्ठ कलाकार मोहन निरौला र कलाकार उत्तम केसी लगायतले अवार्ड प्रदान गरेका थिए ।

यस्तै ‘द बेष्ट मोडल’ अवार्ड अभिषेक खड्काले प्राप्त गरे । खड्कालाई कलकत्ते काइँयो गीतबाट बेष्ट मोडलको अवार्ड प्रदान गरिएको हो । उक्त गीतमा गायक अधिकारी र शान्ति श्री परियारको स्वर रहेकोे छ ।

दक्ष इन्टरनेशनल प्रालिले हरेक बर्ष यस प्रकारको अवार्ड कार्यक्रम विदेशमा गर्दै आएको भए पनि यस बर्ष कोभिडका कारण स्वदेशमै आयोजना गरेको हो ।

३६ बर्षअघि स्याङजामा जन्मिएका अधिकारी साढे एक दशक बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । अधिकारीको स्वरमा पहिलो रेकर्ड भएको गीत ईश्वर पनि देब्रे परेछन्,मनको देउतैले,एउटै डोरी पासो लगाम ,रुमाल चिनो लैजाऊ बैनालाई,स्याङजालीलाई नभन जाली ,त्यो मन रुन्न होला र ,सिलाइ दिउँला भोटो कान्छी लाउली छोटो छोटो,कपाल कोर्ने काइयो, कि त जोवन अर्कैको हो भन नत्र मलाई चाहियो , भन्ने गर्थे बाले ए काले काले यही कालेलाई सबैले मन पराउन थाले,कोइली कराउनी , १४ अञ्चल ससुराल लगायतका गीत चर्चित छन् ।

अधिकारीले यसअघि कालिका,हिट्स,इमेज,तिज लगायतका दर्जनौं अवार्ड हात पारिसकेका छन् । यो अवार्डले आफूलाई थप हौसला मिलेको अधिकारीले जनआस्थालाई बताए ।

टिप्पणीहरू