जीएमलाई महिनौं बाटो छेकेका कर्मचारीहरु अध्यक्षसँग लपक्कै

जीएमलाई महिनौं बाटो छेकेका कर्मचारीहरु अध्यक्षसँग लपक्कै

नेपाल वायुसेवा निगमका कर्मचारी युनियनहरुले अचम्मको व्यवहार देखाएका छन् । राष्ट्रिय ध्वजावाहक एनएसीका तीन वटै युनियनले महाप्रबन्धक डिमप्रसाद पौडेलको राजीनामा माग्दै चार महिनादेखि नाराबाजी र हड्ताल गर्दै आएका थिए ।

यसबीच सरकारले नयाँ कार्यकारी अध्यक्ष नियुक्त गरेपछि ती सबै युनियनले संयुक्त विज्ञप्ति निकालेर स्वागत गरेका छन् । उनीहरुले निगमलाई निजीकरण गर्न लागिएको भन्दै महिनौंदेखि बिरोध कार्यक्रम गर्दै आएका थिए ।सरकारद्वारा कात्तिक ८ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त त्यहीँकै पूर्व बित्त विभाग प्रमुख युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिको तर्फबाट बधाई तथा शुभकामना दिएका छन् । शुभकामनामा भनिएको छ, ‘यहाँको कार्यकालमा निगमको उत्तरोत्तर प्रगति गर्नुहुनेछ भन्ने विश्वास लिएका छौ ।’यसैबीच उक्त समितिले महाप्रबन्धक डिमप्रसाद पौडेललाई असक्षम महाप्रबन्धकको आरोप लगाएको छ । पौडेलको बर्खास्तीको माग गर्दै उनले निगम निजीकरण र कम्पनीकरण गर्ने कुचेष्टा एवम् दुषित मनसाय राखेको संयुक्त ट्रेड युनियन संघर्ष समितिको ठहर छ ।

कार्यकारी अध्यक्षको नियुक्ति र निगम सञ्चालक समितिमा मन्त्रालयको प्रतिनिधि सदस्य परिवर्तनलगायतको परिस्थितिले आफ्नो माग पूरा हुने दिशातर्फ उन्मुख भएको बताइएको छ । साथै,उनीहरुले यसअघिका आन्दोलनका कार्यक्रम हाललाई स्थगन गरिएको तर महाप्रबन्धकलाई कार्यालय प्रवेशमा लगाइएको निषेध कायम रहेको जनाएका छन् ।

टिप्पणीहरू