​जनकपुरको घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न तीर्थयात्रा अत्यन्तै भव्य भयो । उहाँ मूलतः जनकपुरको जानकी मन्दिर, मुस्ताङको मुक्तिनाथ मन्दिर र काठमाडौंको पशुपतिनाथ मन्दिर दर्शन गर्न आउनुभएको रहेछ । फलतः यसलाई पूर्णरूपले एक धार्मिक यात्रा भन्न सकिन्छ । तर, उहाँ एक यस्तो सशक्त राजनीतिक नेता हुनुहुन्छ कि धार्मिक भ्रमण नै गरेको भए पनि नेपालमा ठूलो राजनीतिक तरंग ल्याइदिनुभयो । झन् राजनीतिक भ्रमण नै गरेको भए के पो ल्याउनुहुन्थ्यो होला ।

भगवान् श्रीरामको ससुराली उहाँलाई यति मन परेछ कि अब जनकपुरका लागि एक अर्ब रुपैयाँ दिने घोषणा त्यहीँ गरिदिनुभयो । खुशीको कुरा घोषणा भयो । अब जनकपुरवासी ढुक्क भए हुन्छ कि यदि अर्को कुनै युगमा भगवान् श्रीराम फेरि जनकपुर आउनुभयो भने प्रधानमन्त्री मोदीले घोषणा गर्नुभएको त्यो एक अर्ब पनि साथमै लिएर आउनुहुनेछ । आउनुस्, अब हामी भगवान् श्रीरामको पुनरागमनको प्रतीक्षा गरौँ । यदि श्रीराम कुनै अर्को अत्यावश्यक कार्यमा (स्वर्णिम हरिणको वधतिर) व्यस्त हुनुभएको रहेछ भने पवनपुत्र हनुमानको हातबाट पनि पठाउन सक्नुहुनेछ । प्रतीक्षा गर्नुहोला, पवनपुत्र हनुमान कुनै बेला जनकपुर आउन सक्नुहुनेछ, हातमा एक अर्ब बोकेर । यदि, हनुमानजी त्यसरी पैसा बोकेर आउनुभयो भने कृपया त्यसलाई हुण्डी नसम्झिदिनुहोला । 

प्रधानमन्त्री मोदीले आफ्नो पहिलो नेपाल भ्रमणका बेला भगवान् श्री पशुपतिनाथका नाममा पनि त्यस्तै केही घोषणा गर्नुभएको थियो । त्यो कुरा अहिलेसम्म आएको छैन । किन आएको छैन भने त्यतिबेला उहाँले के घोषणा गर्नुभएको हो त्यो अहिले उहाँ स्वयंले नै बिर्सनुभएको छ । मैले पनि बिर्सेँ । कसैले सम्झ्या छ ?

टिप्पणीहरू