आज कसले कसरी सम्झिए महाकविलाई ?

आज कसले कसरी सम्झिए महाकविलाई ?

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १३ औं जन्मजयन्ती । सो अवसरमा १५ जना कवि कवियत्रीहरुले कपनको आकाशेधारामा आफ्ना रचना वाचन गरेर महाकविको सम्झना गरेका छन् ।

कपन साहित्य समाजले आफ्नै भवनमा आयोजना गरेको लक्ष्मीजयन्ती विशेष कविगोष्ठीमा नेपाली समाजले भोग्नुपरेको पारिवारिक विखण्डन तथा श्रम र वौद्धिक पलायनप्रति चिन्ता व्यक्त गरिएको छ ।

त्यसअवसरमा बोल्दै साहित्यकार प्रा. डा रामप्रसाद ज्ञवालीले महाकवि देवकोटाले दलित, जनजाति र महिला उत्पीडनका विपक्षमा अभिव्यक्ति दिएको बताउँदै भन्नुभयो, ‘हामी व्यक्तिवादी भयौँ, राजनीतिक नेतृत्वमा हामी होइन, म चिन्तन हावी भयो, कम्युनिष्टहरु बुर्जुवा भए ।’ साहित्यकार मित्रलाल पंज्ञानीले बाैद्धिक जनशक्तिलाई विदेशतिर धकेल्ने शिक्षा प्रणालीमा सुधार हुनुपर्ने बताउनुभएको थियो ।

कवि ॐप्रसाद कोइराला, शैलेन्दुप्रकाश नेपाल, श्याम रिमाल, आरएम डङ्गोल, त्रिलोचन आचार्य, होमशंकर बाँस्तोला, डा. विष्णु केसी, बिसुकुमार केसी, विकल त्यागी, पवित्रा चिमौरिया, थरेन्द्र बराललगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

कवि ॐप्रसाद कोइरालाले भागबण्डा कविता वाचन गर्नुभएको थियो । वाचित कविताको केही अंश :

भागबण्डा

हरामले गर्छ बिराम धेर
बिगार भो देश गयो डुबेर
कुकर्मकै देख्छु सदैव धन्दा
हटेन कैले पनि भागबण्डा ।

त्यसैगरी कवि श्याम रिमालले मास्कको मान्छे शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

मास्कको मान्छे

मुख छोपेको मान्छे
चिनिन्छ पनि चिनिँदैन पनि
मान्छे चिन्न मुख नै चाहिने त होइन रहेछ
मुख छोपेको मान्छे पनि चिन्न सकिँदो रहेछ
मुख छोप्दैमा मुखको अनुहार छोपिने होइन रहेछ

मकुण्डो होस् वा मुखौटो
मास्क होस् वा रुमाल
खाने मुख किन छोप्छ मान्छे
अनुहार त चिनिँदो रहेछ
हेर्न जाने खाने मुख पनि मज्जाले देखिँदो रहेछ
र मुखको मुख पनि छर्लङ्ग हुँदो रहेछ

मास्कको मान्छे मुख छोप्न सक्दैन
माटो आफ्नै खाएको अनुहार लुकाउनै सक्दैन
मान्छेको हाउभाउबाटै मान्छे चिनिँदो रहेछ
नचिनिने त मृत अनुहार मात्र हो
छनकमनकबाटै मान्छेको भाउ बुझिँदो रहेछ

मुख छोपेको मान्छेसँग डराउनु पर्दैन
मुर्कट्टासँग त झनै डराउनु पर्दैन
मुख छोप्दैमा मान्छे मन, मुटु र मुण्ड छोप्न सक्दैन
मास्क, मुखौटो र मकुण्डोको मान्छे
मूर्खभन्दा माथि उठ्न पनि सक्दैन

हरे, महामारीको मान्छे कति डराएको छिः
अनि मास्कले मुख छोपेर पनि मनपरी गर्न भने छाड्दैन
मान्छे मन, मुटु, मुख, मस्तिष्क सबै मारेर
मत्र्यलोक नै विकृत बनाउँदै छ ।
होशियार, मास्कको मान्छे
हरेक दिन मनपरी गर्दै छ ।

समाजले छिट्टै ‘कपन दर्पण’ पत्रिका प्रकाशन गर्ने जानकारी दिइएको छ ।

टिप्पणीहरू