जाडोमा कसले दियो मोदीलाई रातो ज्याकेट ?

सोमबार राति बसेको क्याबिनेट बैठकमा प्रधानमन्त्री केपी ओलीले गरेको ब्रिफिङ निकै रोचक थियो । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे मन्त्रीहरूलाई जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘वन टु वन वार्ता र अन्य प्रसंगमा पनि हामी त सानो देश भन्दै हीनताबोध प्रकट गर्दा ‘कहाँ त्यस्तो हो’ भन्न थालिएको छ । प्रधानमन्त्रीका अनुसार, यो भ्रमणबाट भारतभन्दा नेपालले नै बढी फाइदा लिएको देखिएको छ । ओलीले अगाडि भन्नुभयो, ‘यसबीच, हाम्रैतर्फबाट (२ नम्बर प्रदेशमा) केही हर्कत भए बरु ।

पहिले नेपाललाई हेर्ने भारतीय दृष्टिकोण माथिदेखि तलैसम्म हेपाहा खालको हुन्थ्यो तर अहिले राजनीतिक नेतृत्वमा त्यस्तो छैन । बरु, कर्मचारीतन्त्र र एजेन्सीको तहमा चाहिँ केही तुष र कस बाँकी छ ।’ क्याबिनेट ब्रिफिङमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई सोध्नुभयो– के तपाईंहरूले याद गर्नुभो, भारतीय पाहुना कालो कुर्ता पाइजामा पहिरी त्यसमाथि सल ओढेर मुक्तिनाथ जानुभयो तर पूजा गर्दा र फर्कंदा भने रातो ज्याकेटमा हुनुहुन्थ्यो । त्यो कसरी भयो ?’ उहाँले स्पष्ट पार्नुभयो, ‘दिल्लीको गर्मीबाट आएकालाई जाडोबारे त्यति ध्यान नपुग्न सक्छ । यसर्थ पाहुनालाई चिसो नलागोस् भनेर मैले नै त्यसको इन्तजाम गरिदिएको हुँ ।’ उहाँले नेपालको तर्फबाट स–साना कुरा पनि मिहिन पारामा उठाइएको जानकारी दिनुभयो ।


भारतीय प्रधानमन्त्री सीमा नाकामा नेपालीमाथि हुने दुःख र डुबान समस्याजस्ता कुरामा सकारात्मक रहेको पनि मन्त्रीहरूलाई अवगत गराइयो । मोदीको भ्रमणपछि जारी भएको १६ बुँदे संयुक्त वक्तव्यमा सेप्टेम्बर १९ तारिख उल्लेख भएकोमा २२ तारिख अर्थात् असोज ६ गतेसम्ममा विगतका सम्झौताको कार्यान्वयन भइसक्ने गरी सच्याइएको पनि उहाँले बताउनुभयो । मिति तोकेर यति समयभित्र कार्यान्वयन गर्ने भन्ने कुरा नै ठूलो हो भन्ने प्रमको दाबी थियो । त्यो समयमा भएन भने सबैखाले बाचा झूठा रहेछ भन्ने प्रमाणित हुनेछ । उहाँले आफ्नो भारत भ्रमणका बेला उठाएका विषय फेरि पनि दोहो¥याएको पनि बताउनुभयो ।

प्रदेश नम्बर २ लाई मोदीले दिने भनेको एक अर्ब केन्द्र सरकारको स्वीकृतिमा मात्र जाने भएकाले त्यसमा चिन्ता नगर्न उहाँले आश्वस्त पार्नुभयो । प्रमको भनाइ थियो, ‘२ नम्बर प्रदेशका मुख्यमन्त्रीले संविधानमा मधेसीलाई थिचोमिचो गरिएको, हेपिएको भने पनि, हाम्राले जतिसुकै ताबेदारी गरे पनि मोदीजीले स्पष्ट रूपमा भन्नुभएको छ, तपाईंहरूको राष्ट्रिय अखण्डताको सम्मान गरिनेछ । संविधानपछिको यो युग स्वर्ण युग हो । त्यसैले मोदीजीको भनाइले नै यी ठेट्नाहरूको भनाइलाई स्वतः खण्डित गरिसकेको छ ।’

टिप्पणीहरू