आज बिहान गाई र गोरुको पूजा, साँझ म्हः पूजा

आज बिहान गाई र गोरुको पूजा, साँझ म्हः पूजा

आज तिहारको चौथो दिन अर्थात गोबर्धन पूजा । मुलुकभर गोरुको पूजा गरेर तिहारको चौथो दिन भव्यताका साथ मनाईंदैछ । आजको दिनलाई हलतिहार र गोरु तिहार पनि भनिन्छ ।

पौराणिक कथाअनुसार आज गरिने गोबर्धन पूजा पर्वतको पनि पूजा हो । गाईको गोबरलाई पहाडको पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक कार्य सनातन कालदेखिको धार्मिक विधि हो ।

योसँगै वर्षभरि खेतबारी खनजोतमा प्रयोग हुने हलो तानेर गोरुले किसान र समग्र सबैको भोजनको लागि मार्ग प्रशस्त गरिदिएको हुन्छ । वर्षभरि जोतिएर भए पनि मानव हितका लागि सेवा गर्ने तिनै गोरुलाई आज पूजाआजा गरी मीठा खानेकुरा खुवाइन्छ ।

हिजो साँझ लक्ष्मीपूजा गरे पनि लक्ष्मीको प्रतिकको रुपमा आज गाईपूजा गरिन्छ । कतिपय वर्ष बिहान गाईतिहार र साँझ लक्ष्मीपूजा पर्छ । यो वर्ष हिजो लक्ष्मीपूजा र आज गाईतिहार परेको हो ।

गाईलाई हिन्दूहरुले गौमाताको रुपमा पुज्छन् । गाईको दुध, गोबर र गहुँत निकै पवित्र मानिन्छ । मानव र हिन्दू जीवनमा यी तिनै पदार्थलाई निकै उपयोगी ठानिन्छ । आज गाईको पूजासँगै जनै पूर्णिमाका दिनमा हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँध्ने व्यक्ति मृत्युपश्चात् स्वर्ग जान सजिलैसँग वैतरणी नदी तर्न सक्ने धार्मिक विश्वास समेत छ ।

तिहारको पाँच दिनमध्ये आजको दिनलाई पनि विशेष रुपमा मनाइन्छ । आजै साँझ नेवार समुदायले राति म्हः पूजा अर्थात् आत्मपूजा गर्छन् । व्यक्तिले आफ्नो पूजा आफैँले गर्ने यो निकै विशिष्ट प्रचलन हो ।

आज साँझ द्यौसी खेलिन्छ । हिजो साँझ महिलाले भैलो खेलेका थिए । आज साँझ र राति पुरुषले द्यौसी खेल्ने गर्छन् ।

टिप्पणीहरू