जताततै भारतीय फूलको व्यापार, नेपाली पुष्प किसानलाई मार

जताततै भारतीय फूलको व्यापार, नेपाली पुष्प किसानलाई मार

भारतबाट धेरै परिमाणमा फूल आएपछि नेपालका पुष्प किसानहरु मारमा परेका छन् । राजधानीमा बिक्रीमा राखिएका अधिकांश फूल सबै भारतबाट आएका हुन् ।

भारतीय फूल प्रतिमुठा दुई हजार रुपैयाँसम्म बिक्री हुँदा नेपाली फूलको माला प्रतिमुठा पाँच सय रुपैयाँमा बेच्न मुश्किल परेको व्यवसायीहरुले बताएका छन् । काठमाडौँमा लक्ष्मीपूजा,गोबर्धन पूजा र भाइटीकाको दिन सयपत्री, मखमलीलगायतका फूलहरुको बिक्री धेरै हुने गर्छ ।

कात्तिक पहिलो सातादेखि देशभर परेको बेमौसमी वर्षाले कृषिबालीसँगै फूल खेतीमा पनि क्षति गरेको थियो । वर्षाले देशभर लगाइएको र बिक्रीका लागि तयारी अवस्थामा रहेका फूलमा धेरै क्षति भएको हो ।

“बेमौसमी वर्षाको कारण नेपाली किसानले लगाएको फूल बारीमै नष्ट भएपछि भारतीय फूलले नेपाली बजारमा कब्जा जमाएको छ । “

काठमाडौँ उपत्यका वरिपरि र तराईका विभिन्न भागमा व्यावसायिक रुपमा फूलको खेती हुने गरेको छ । फूल बेच्न काठमाडौंमा छिमेकी जिल्लाहरु नुवाकोट, धादिङ,काभ्रेपलाञ्चोकबाट किसान तथा व्यापारीहरु आफैँ आउने गरेका छन् ।

काठमाडौंको नयाँ सडकमा फूल बेच्ने र किन्नेहरुको अत्यधिक भीड देखिए पनि नेपाली किसान र व्यापारी भने निराश देखिएका छन् । वर्षेनी तिहारको समयमा काठमाडौंमा फूल बेच्दै आएका धादिङका अशोक अधिकारीले यो वर्ष भारतबाट फूल अत्यधिक आएका कारण नेपाली फूलले उचित मूल्य नै नपाएको गुनासो गरेका छन् ।

यो वर्षको तिहारमा फूल र मालाको माग बढ्ने र यसको प्रत्यक्ष लाभ नेपाली किसानले गर्ने अनुमान गरिएको थियो । तर बेमौसमी वर्षाको कारण नेपाली किसानले लगाएको फूल बारीमै नष्ट भएपछि भारतीय फूलले नेपाली बजारमा कब्जा जमाएको छ । कोरोना संक्रमणको जोखिम कम भएको र मानिसले उल्लासमय तरिकाले तिहार मनाउँदा माग बढ्ने अनुमान गरिएको थियो ।

गत वर्षको तुलनामा ५ लाख बढी मालाको माग हुने अनुमान गरिएको छ । नेपालमा वार्षिक करिब तीन अर्ब रुपैयाँ बराबरको फूल र मालाको कारोबार हुँदै आएको विभिन्न अध्ययनले देखाएको छ ।

टिप्पणीहरू