एक दिने भारतीय पास, बंगलादेशीलाई काठमाडौंमा खास

एक दिने भारतीय पास, बंगलादेशीलाई काठमाडौंमा खास

राजधानी काठमाडौं उपत्यकामा पछिल्लो समय बंगलादेशी नागरिकको बाक्लो उपस्थिति देखिन थालेको छ । वैधानिक रुपमा बस्नेभन्दा अवैधानिक तवरले नेपाल छिर्नेको संख्या निकै ठूलो रहेको बताइन्छ ।

काठमाडौं उपत्यकामा अधिकांश बंगलादेशी नागरिक गार्मेन्ट र पस्मिना उद्योगमा कार्यरत छन् । भारतीय नागरिकको भेष र कागजातमा छिरेका उनीहरु लामो समयदेखि यतै रहेका हुन् ।

उनीहरु बंगलादेशबाट भारतमा रहेका आफन्त भेट्ने बहानामा छिरेको बताइन्छ । उनीहरुले भारतीय सीमामा रहेको अध्यागमन कार्यालयमा निवेदन दिएपछि बंगलादेशले भारत गएर आउन एक दिनको पास (अनुमति पत्र) बनाइदिने गरेको छ । त्यही पास बोकेर छिरेका बंगलादेशीहरु भारत हुँदै नेपाल प्रवेश गर्ने गरेको सरकारी अधिकारीहरु बताउँछन् ।

नेपाल छिर्ने क्रममा बंगलादेशका नागरिकले आफूलाई भारतीय बंगालीको परिचय दिने गरेको पाइएको छ । काठमाडौंमा बानेश्वर, ज्ञानेश्वर,बत्तिसपुतली,चाबहिल, गोपीकृष्ण,जोरपाटी,आरुबारी, लाजिम्पाट,रानीबारी,स्वयम्भू, कालिमाटी,ताहाचल,कुलेश्वर, कलंकी,पेप्सीकोला,बालाजु, गोलढुङ्गा,ललितपुरको इमाडोल, पुलचोकलगायतका ठाउँमा छरिएर काम गरेको गृह मन्त्रालयको दाबी छ ।

नेपालको अन्तर्राष्ट्रिय सीमानाबाट सजिलैसँग गैरकानुनी रुपमा विदेशीहरु छिर्नुको कारण सीमामा रहेको फितलो सुरक्षा जाँच रहेको सुरक्षाविद्हरु बताउँछन् । त्यहि फितलोपनको फाइदा उठाउँदै भारत हुँदै विगतमा भुटानी,केही पहिले म्यानम्यारका रोहिंग्या र हालै अफगान नागरिकहरु शरणार्थीको भेषमा नेपाल छिरेको उनीहरुको निश्कर्ष छ ।

त्यसरी विदेशीलाई नेपालमा प्रवेश गराउनेमा कम्युनिटी पुलिसिङ र सामुदायिक प्रहरीको समेत कमजोरी देखिएको बताइन्छ । जबकि कुनै पनि देशमा कानुनी रुपमा बसेका शरणार्थीले समेत स्वतन्त्रतापूर्वक हिंड्डुल र व्यापार व्यवसाय गर्न पाउँदैनन् । नेपालमा भने गैरकानुनी रुपमा छिरेका विदेशीले ती सबै कार्य गरेको देखिन्छ ।

टिप्पणीहरू