कसैलाई खै खै, कसैलाई भ्याइ नभ्याइ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ जानु अघिल्लो दिन शुक्रबार दिउँसो पर्वतबाट निर्वाचित र हाल प्रदेश नं. ४ का सभामुख नेत्रनाथ अधिकारी पोखरास्थित आफ्नै निवासको बाथरुममा दिउँसो चार बजेतिर चक्कर लागेर ढले । टाउकोमा रगत जम्यो । त्यहाँ उपचार सम्भव छैन भनेर चिकित्सकहरुले काठमाडौं लान सुझाव दिए । यताउता गर्दागर्दै साँझ परिसकेको थियो । तर सेनाको नाइटभिजन हेलिकोप्टर पाइएन ।

त्यसैले समयमै काठमाडौं ल्याउन सकिएन र भोलिपल्ट फिस्टेल एयरको हेलिकोप्टर प्रयोग गर्नुप¥यो । मेडिसिटीमा उपचार हुँदैछ ।

किन यस्तो ? हेलिकोप्टरको अभाव कसरी भयो भने हाम्रो सेनाका नाइटभिजन हेलिकोप्टरहरु सबै भारतीय टोलीको व्यवस्थापनमा थिए । होहल्ला के गरिएको थियो भने भारतले भ्रमणका लागि आवश्यक उड्नेमा हेलिकोप्टर र गुड्नेमा गाडी सबै उतैबाट ल्याएको छ । त्यसो भए किन नेपाली सेनाका हेलिकोप्टरले नेपालीको सेवा गर्ने मौका पाएनन् ? किनकि आखिर नेपाली सेनाको हेलिकोप्टर नै पाहुनाको सुरक्षामा अत्यधिक प्रयोग भयो । मोदी पटनाबाट हेलिकोप्टरमा नभएर एटिआर जहाजमा जनकपुर र काठमाडौं पनि त्यसरी नै आए । हाम्रा प्रधानमन्त्री, रक्षामन्त्रीचाहिँ बरु सेनाको एमआई १७ हेलिकोप्टर चढेर जनकपुर गएका हुन् । उताबाट फर्कंदा प्रधानमन्त्री टुँडिखेलको ‘गार्ड अफ अनर’ भ्याउने गरी छिट्टै फर्किए भने रक्षामन्त्री बाह्र बिघामा आयोजित कार्यक्रममा सरिक भए । हुन त भारतले ५ वटा हेलिकोप्टर ल्यायो तर त्योमध्ये एउटा बिग्रिएर जोमसोममै थन्कियो भने त्यसलाई बनाउन भनेर गएको अर्को हेलिकोप्टर पनि हावाका कारण उड्न नसकेर त्यहीं बस्यो ।


यता ती हेलिकोप्टर उडाउने र स्पेशल प्रोटेक्सन ग्रुपकाहरु हायात र अन्नपूर्ण होटलमा ३१ वटा कोठा बुक गरेर बसेकोमा अस्तिसम्म त्यहीं थिए । फेरि पनि प्रश्न के भने उताबाट त्यत्रोविधि हेलिकोप्टर ल्याएको अर्थ के भयो ! त्यत्ति हो, मोदीले नेपाली हेलिकोप्टर चढ्नु परेन । नत्र रेकी गर्नेदेखि तेल ओसार्ने र सबै सुरक्षाका काममा नेपाली सेनाका हेलिकोप्टर प्रयोग भए । भारतीय राजदूत पनि हाम्रै हेलिकोप्टर चढेर हिँडे । यदि यस्तै हो र विदेशी पाहुना आउँदा उतैबाट सबै सवारी साधन ल्याउने हो भने मानौं कि नेपालमा कुनै ठूलो सम्मेलन भयो र केही मुलुकका राष्ट्र प्रमुखहरु आउने भए भने के होला हाम्रो एयरपोर्टको हालत ? कहाँ राख्ने प्रत्येकका ५÷५ वटा हेलिकोप्टर ? भारतले ल्याउन पाउने– अरुलाई त्यो सुविधा नदिने भन्न पनि नमिल्ला ? यस्तो कुरामा ध्यान दिनु जरुरी छ ।

टिप्पणीहरू