नगरपालिकाले तोक्यो द्यौसी–भैलोमा दिइने रकम

नगरपालिकाले तोक्यो द्यौसी–भैलोमा दिइने रकम

मोरङ सुन्दरहरैंचा नगरपालिकाले तिहारको समयमा द्यौसी–भैलो खेल्न आउनेहरुलाई दिइने कात्तिके दानको रकम तोकेको छ । हिजो नगरपालिकाले शुभकामना सन्देश सार्वजनिक गर्दै द्यौसी–भैलो खेल्न आउनेहरुलाई दिने कात्तिके दानको रकम उल्लेख गरेको हो ।

द्यौसी–भैलो खेल्न आउने टोलीलाई १५ वर्ष उमेरसम्मका बालबालिकालाई बढीमा एक सय रुपैयाँ,१५ वर्षभन्दा माथिका बालबालिकालाई बढीमा पाँच सय, क्लब तथा नाचगान समूहलाई बढीमा ११ सय र संस्थागत समूहलाई बढीमा २१ सय रुपैयाँ मात्र दिन भनिएको छ ।

नगरपालिकाका अधिकृत जीवनकुमार चापागाईंले यदाकदा आधुनिकताको नाममा नेपाली समाजको संस्कृति,परम्परा,मर्यादा र अनुशासन विपरित छरछिमेक र समाजको समग्र शान्ति सुव्यवस्था नै प्रभावित हुने गरी कानुन विपरितका अवाञ्छित गतिविधि हुने गरेको पाइएकाले उक्त रकम तोक्नु परेको हो ।

नगरपालिकाले द्यौसी–भैली, नाचगानजस्ता मनोरञ्जनात्मक कार्यहरू दीपावलीको समयमा बेलुका १० बजेसम्म मात्र खेल्न र पटकालगायतका प्रज्वलनशील पदार्थ पड्काउन र ओसार प्रसार नगर्न नगरवासीलाई अनुरोधसमेत गरेको छ ।

टिप्पणीहरू