योगेश भट्टराईलाई हालका अखिल अध्यक्ष सुदेशको कटाक्ष

योगेश भट्टराईलाई हालका अखिल अध्यक्ष सुदेशको कटाक्ष

नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आफ्नो पार्टीलाई अवैध भन्ने एमाले नेता योगेश भट्टराईलाई जथाभावी नबोल्न चेतावनी दिएका छन् ।

भट्टराईले हिजो एमाले मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादी पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका थिए । त्यसको जवाफमा अध्यक्ष पराजुलीले संविधान र दलसम्बन्धी कानुनको व्यवस्था पढेर मात्र बोल्न चेतावनी दिएका हुन् ।

‘यो केपी ओलीको एकदलीय व्यवस्था होइन आदरणीय दाइ योगेश भट्टराई,कुन दल वैधानिक वा अवैधानिक भन्ने आधार तपाईंले तय गर्ने होइन’, उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘ नेपालको संविधान छ ,नेपालमा संवैधानिक निकाय निर्वाचन आयोग छ ।’

उनले निर्वाचन आयोगको भूमिका निर्वाह गरेको हो ? भन्दै भटराईमाथि कटाक्षपूर्ण प्रश्नसमेत गरेका छन् । लोकतान्त्रिक व्यवस्थामा दलको पहिचानको निर्क्योल जनताको बीचबाट हुने भन्दै पराजुलीले भटराईको लोकतन्त्रविरोधी भनाइले आश्चर्यमा परेको बताएका छन्।

हिजो केपी ओलीको प्रतिगामी कदमका विरुद्ध मन्चमा बोल्ने योगेश भट्टराई र आज अन्य पार्टीलाई वैध र अवैध भन्ने योगेश भट्टराई एउटै हो ? प्रश्न गर्दै उनले भनेका छन्, ‘बहुदलीय व्यवस्थाको झण्डा बोक्ने योगेश दाइ र आज निर्दलीय व्यवस्थाको पक्षपोषण गर्ने योगेश दाइको मेल कसरी हुन्छ होला ?’

उनले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को ठेगाना खोज्न र सोध्न निर्वाचन आयोगमा जान सल्लाहसमेत दिएका छन्।

टिप्पणीहरू