एकीकृत समाजवादीले खुराफाती राजनीति गर्दैन : माधव नेपाल

एकीकृत समाजवादीले खुराफाती राजनीति गर्दैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभएको छ । संस्कारयुक्त पार्टी निर्माण र जनताको पक्षमा काम गर्नु नै आफूहरुको पहिलो ध्येय रहेको उहाँले बताउनुभयो ।

एकीकृत समाजवादीको कागेश्वरी-मनोहरा नगरपालिका ८ नम्बर वडा कार्यालय उद्घाटन तथा दिपावली,नेपाल संवत,छठ एवं ल्होसारको शुभकामना आदान-प्रदान कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले जनताको पक्षमा काम गर्नैका लागि एमालेबाट विद्रोह गर्नुपरेको दावी पनि गर्नुभयो ।

अध्यक्ष नेपालले व्यक्ति प्रधान नभई विचार प्रधान पार्टी निर्माणका लागि नै कम्युनिष्ट आन्दोलन पुनर्गठनको अभियान थालेको उल्लेख गर्नुभयो । ‘हाम्रो पार्टीले पुष्पलालले जुन नीति लिनुभएको थियो,त्यही नीति अङ्गीकार गरेको छ । राजनीतिमा विचार प्रधान हुन्छ,व्यक्ति होइन ।’

‘मैले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई काठमाडौंबाट बाहिर जाने यात्रुलाई खोपको व्यवस्था गरिदिन भनेको छु ।”

कार्यकर्ता संस्कारी भए मात्रै मुलुक सम्बृध्द हुने भन्दै उहाँले असल बाटोमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘हामी असल संस्कार चाहन्छौ,संमृद्ध मुलुक र भ्रष्टाचारमुक्त सुन्दर समाज बनाउन चाहान्छौं । सबैले राम्रो सोच राख्नु पर्छ ।अरूलाई घोचपेच गर्ने, खुराफाती गर्ने होइन’, उहाँले भन्नुभयो ।

एमाले निर्माण गर्ने आफूसहित धेरै शीर्ष नेता एकीकृत समाजवादीमा रहेकाले आफ्नो पार्टीलाई नयाँ दल भन्न नमिल्ने उहाँको भनाइ छ । भन्नुभयो, ‘कसैको मनमा यो पार्टी नयाँ भन्ने लागेको छ भने म भन्न चाहन्छु, एमाले स्थापना गर्ने, देश-विदेशमा कम्युनिष्टको प्रचारप्रसार गर्ने म यहि पार्टीमा छु । अन्य शीर्ष नेताहरू यहि पार्टीमा हुनुहुन्छ ।’

सुदूरपश्चिम प्रदेशमा अहिले नै एकीकृत समाजवादी पहिलो पार्टी बनिसकेको भन्दै उहाँले अन्य प्रदेशमा पनि संगठन विस्तार तीब्र बनाइने जानकारी पनि दिनुभयो ।

एमाले पार्टीले आफ्नो गौरवशाली विरासत गुमाइसकेको भन्दै उहाँले त्यसैकारण आफूले ४५ वर्ष जिम्मेवारी लिएर काम गरेको पार्टीबाट विद्रोह गर्नुपरेको पनि प्रष्ट पार्नुभयो । उहाँले चुनाव चिन्हभन्दा विचार प्रमुख हुने भन्दै सूर्य चिन्हमा ग्रहण लागिसकेको दावी पनि गर्नुभयो ।

उहाँले तिहारमा घर फर्किनेलाई बसपार्कमै कोरोनाको खोप लगाउने अवधारणा आफूले ल्याएको पनि बताउनुभयो । ‘मैले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई काठमाडौंबाट बाहिर जाने यात्रुलाई खोपको व्यवस्था गरिदिन भनेको छु । त्यहि अनुसार अहिले तिहारमा घर फर्किनेहरुले खोप पाएका छन्’, अध्यक्ष नेपालले भन्नुभयो ।

टिप्पणीहरू