जताततै जलपान र शुभकामना, नेकपा एमाले र एसको पनि चटारो

जताततै जलपान र शुभकामना, नेकपा एमाले र एसको पनि चटारो

आज तिहारको सबैभन्दा महत्वपूर्ण दिनमध्येको एक लक्ष्मीपूजा । राजधानीमा अधिकांश प्रमुख राजनीतिक दलले जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रम राखेका छन् । आज सबैभन्दा धेरै नेकपा एकीकृत समाजवादीको कार्यक्रम छ ।

उक्त पार्टीको मध्यपुर थिमि नगर संगठन कमिटीले पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । थिमि,भक्तपुरमा बिहान ७ बजेदेखि कार्यक्रम शुरु भएको हो ।

अध्यक्ष नेपालको प्रमुख आतिथ्यमा कागेश्वरी मनोहरा नगरपालिका ८ वडा कमिटीको कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम भइरहेको छ । तेजविनायक चोकमा बिहान ८ बजेदेखि कार्यक्रम भएको हो ।

आजै नेकपा एकीकृत समाजवादी धादिङ–काठमाडौं सम्पर्क मन्चले सामूहिक द्यौसी–भैलो तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई बधाई तथा शुभकामना कार्यक्रम राखेको छ । बिहान ११ बजे मेगा पार्टी प्यालेस,बाफलमा कार्यक्रम राखिएको हो ।

नेकपा एकीकृत समाजवादी अर्घाखाँची–काठमाडौं सम्पर्क मञ्चले पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा विशेष द्यौसी–भैलो र सोरठी नाच कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रम दिउँसो १ बजे अर्याल होटल, नयाँ बानेश्वरमा हुँदैछ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीको गोरखा जिल्ला कमिटी र गोरखा–काठमाडौं सम्पर्क मञ्चको संयुक्त आयोजनामा शुभकामना आदनप्रदान,चियापान तथा द्यौसी–भैलो कार्यक्रम राखिएको छ । दिउँसो १ बजे राखिएको कार्यक्रम सुमन क्याफे, नयाँबजारमा हुने बताइएको छ ।

आजै एमालेले पनि शुभकामना तथा चियापान कार्यक्रम राखेको छ । जसमा दक्षिणकाली नगर कमिटीले फर्पिङ झम्केश्वरी डबलीमा बिहान साढे ७ बजे र एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चको द्यौसी–भैलो तथा शुभकामना आदनप्रदान कार्यक्रम ए वान पार्टी प्यालेस, चाबहिल चोकमा बिहान ९ बजे राखिएको हो ।

एमाले गौरीशंकर–काठमाडौं सम्पर्क मञ्चले शुभकामना कार्यक्रम बिहान १० बजे लोटस पार्टी प्यालेस महादेवस्थान, कोटेश्वरमा र एमाले गोकर्णेश्वर नगर कमिटीको त्यस्तै कार्यक्रम गोकर्णेश्वर बैंक्वेट, अत्तरखेल,जोरपाटीमा बिहान ११ बजे हुने बताइएको छ ।

आजै दिउँसो १ बजे मध्यपुर थिमि नगरपालिकाले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ‘गन्तव्य मध्यपुर थिमि’ तस्वीर पुस्तक विमोचन गर्ने जनाएको छ । कार्यक्रम मध्यपुर थिमि ४, निगुपुखमा दिउँसो १ बजे हुँदैछ ।

नेपाली काँग्रेसले पनि आज शुभकामना आदानप्रदान कार्यक्रम राखेको छ । नेपाली काँग्रेस ललितपुर महानगर २७ वडा इकाइ कमिटीले सुनाकोठी चपाफलमा बिहान साढे ७ बजे शुभकामना कार्यक्रम राखेको हो ।

काँग्रेसको सूर्यविनायक नगरपालिका १ नम्बर वडा समितिले धन्सार चोक, सिरुटारमा बिहान ८ बजे शुभकामना आदानप्रदान र नेपाली काँग्रेसको पार्टी कार्यालय उद्घाटन कार्यक्रम राखेको छ ।

काँग्रेस मध्यपुर थिमि नगर कार्यसमितिले मध्यपुर थिमी ५, भुलांखेलमा बिहान ८ बजे शुभकामना कार्यक्रम राखेको छ भने नेपाली काँग्रेस काठमाडौं महानगर १५ वडा समितिले त्यस्तै कार्यक्रम बिहान ९ बजे भुइँखेल चौर, स्वयम्भूमा राखेको छ । दुबै ठाउँमा नेता प्रकाशमान सिंह प्रमुख अतिथि हुनुहुन्छ ।

तर, नेपाली काँग्रेसको मुख्यालय सानेपामा आज पनि महिनौंदेखि हुँदै आएको बिरोध कार्यक्रम जारी छ । रौतहटमा क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध रिले अनसन तथा धर्ना कार्यक्रम हुँदै आएको छ ।

नेपाली काँग्रेस ललितपुरले गोदावरी नगरपालिका–१४ ठैबस्थित फूलचोकी माध्यमिक विद्यालयमा साँस्कृतिक कार्यक्रम राखेको छ । दिउँसो ३ बजे कार्यक्रम शुरु हुने बताइएको छ ।

आजै नेकपा माओवादी केन्द्रको कागेश्वरी मनोहरा नगर समितिले चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । ए टु जेट पार्टी प्यालेस, मुलपानीमा बिहान साढे ७ बजे कार्यक्रम भएको हो ।

नेकपा माओवादी केन्द्र मध्यपुर थिमि नगर कमिटीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा नेपाल संवत् ११४२ तथा शुभ दीपावलीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ । दिउँसो साढे १ बजे शंखरधरचोक, थिमिमा हुने कार्यक्रममा नेपाल संवतका प्रवर्तक, राष्ट्रिय विभूति शंखधर साख्वाः को प्रतिमामा माल्यार्पण गरिने बताइएको छ ।

विवेकशील साझा पार्टीको बागमती प्रदेश समितिले पनि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । पार्टी केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा बिहान ८ बजे कार्यक्रम राखिएको हो ।

त्यसैगरी जनमत पार्टीले आजदेखि कात्तिक २६ गतेसम्म डा. सीके राउतको जीवनी भिडियो प्रदर्शन गर्ने र छठ घाटमा पर्वभन्दा अघि र पछि सरसफाई कार्यक्रम गर्ने जनाएको छ ।

टिप्पणीहरू