तिहारको रमझम शुरु

तिहारको रमझम शुरु

हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुरु भएको छ । पाँच दिनसम्म चल्ने यो पर्वको आफ्नै खालको विशेषता छ । कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि शुरु हुने यो पर्व कार्तिक शुक्लपक्षको द्धितीया तिथी अर्थात् भाईटीकासम्म मनाइन्छ । तर यो वर्षको तिहार तिथि खप्टेकाले चार दिन मात्र छ ।

पाँच दिनसम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिएको हो । हिन्दूधर्मावलम्वीहरुले मनाउने यो पर्व पाँचै दिन विशेष गरि नेपालमा मनाइन्छ । भारत, भुटान, म्यानमार, थाइल्याण्ड लगायत युरोप र अमेरिकामा समेत आफ्नै तरिकाले मनाउन थालिएको छ ।

तिहारको उत्पत्ति हिन्दी भाषाको ‘त्यौहार’ शब्दबाट अपभ्रंश हुँदै तिहार बनेको ठान्नेहरु पनि भेटिन्छन् । यो पर्वलाई दिपावली, दिवाली आदी नामलेसम्म चिनिन्छ । यमराजले पाँच दिनसम्म आफ्नी बहिनी यमुनाको घरमा आतिथ्य ग्रहण गरेकाले पनि यमपञ्चक भन्ने गरेको धार्मिक किंवदन्ती रहेको छ ।

तिहारको पहिलो दिन धनवन्तरीको जन्म भएकाले धनवन्तरी जयन्ती भनिन्छ । त्यो दिनालाई धनतेरस समेत भनिन्छ । त्यो दिनको साँझ घरको मूलढोकामा यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रशन्न हुने र आरोग्यता तथा दीर्घजीवन प्राप्त हुने विश्वास रहेको छ ।

तिहारमा विशेष गरेर काग, कुकुर, गाई, लक्ष्मी, गोबर्धन र भाईको पूजा गरिन्छ । घरघरमा दिपावली गर्ने, पिङ खेल्ने, सेलरोटी खाने र भाइटीका लगाएर तिहार पर्व मनाउने नेपाली परम्परा रहेको छ ।

यो वर्षको तिहार चार दिनमात्र

यस वर्षको तिहार चार दिन मात्र रहेको छ । कागतिहार र कुकुरतिहार एकै दिन परेकाले यो वर्षको तिहार चार दिन मात्र रहेको हो । कार्तिककृष्ण त्रयोदशीको दिन कागतिहार मनाउने परम्परा छ । तर, एकै दिन चर्तुदशी तिथि समेत परेकाले कागतिहार र कुकुरतिहार एकै दिन मनाउनु परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कागतिहारको दिन कागलाई यमराजको सन्देश प्रवाहक रुपमा पुजिन्छ । उसलाई मिठा खानेकुरा दिइन्छ । कागलाई अशुभ सन्देश प्रवाह गर्ने पंक्षीको रुपमा पनि लिइन्छ । नरकलोकका आधिपति यमराजले पृथ्वीलोकमा भएका मानिसको जन्म र मृत्युको विवरण राख्ने विश्वास गरिन्छ । त्यस्तो विवरण ल्याउने र लैजाने काम कागले गर्ने धर्मशास्त्रहरुमा उल्लेख छ ।

कुकुरतिहारको दिन कुकुरलाई पूजा गरेर मिठो खानेकुराहरु खुवाइन्छ । यमदूतको प्रियभक्त भएकाले पनि कुकुरलाई यमदूतको रुपमा लिइन्छ । कुकुरले घरको रेखदेख गर्ने, अपराधी पत्ता लगाउने, चोरी डकैतीबाट जोगाउने, दैवी विपत्तीको बेलामा पूर्वसूचना दिने समेत गर्दछ । कुकुरलाई भैरवको वाहनको रुपमा समेत पूजिन्छ ।

गाईतिहारका दिन गाईको पूजा गरिन्छ । गाईको गोबरले लिपेर गहुँत छर्किएर घर, कोठा पवित्र बनाउने हिन्दु संस्कार छ । गाईलाइ पशुधनको रुपमा समेत लिइन्छ । धनधान्यकी देवीको रुपमा बेलुकी लक्ष्मीको पूजा गरिन्छ । औंशीको कालो रातमा झिलीमिली बत्ती बालेर पूजा गर्दा लक्ष्मीको आगमन हुने धार्मिक विश्वास छ । यो दिन बेलुकी विशेषगरी महिला र युवतीहरु भैलो खेल्छन् ।

तिहारको चौथो दिन गोरु तिहार हो । यस दिनलाई गोरुतिहार, हलतिहार तथा गोबर्धन पूजाको रुपमा मनाइन्छ । वर्षभरी खेत बारीमा जोतेर थकित भएका गोरुलाई उक्त दिन पूजा गरेर मिठो खाना दिइन्छ । गोबर्धन पूजाको दिन गाईको गोबरको गोबर्धन पर्वत बनाएर पूजा गर्ने धार्मिक परम्परा छ । उक्त दिन बेलुकी आफन्त, साथीभाई विशेषगरी पुरुषहरुले द्यौसी खेल्छन् ।

तिहारको पाँचौं अर्थात अन्तिम दिन भाइतिहार (भाइटीका) हो । त्यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइहरुलाई दीर्घायुको कामना गर्दै सप्तरंगी टीका र मखमली, सयपत्री तथा दुबोको माला लगाइदिन्छन् ।

एकपटक बहिनीले दाजुलाई टीका लगाउँदै गर्दा यमराजका दूत दाजुलाई लिन आएकाले बहिनीले टिका नसकुञ्जेल पर्खिन आग्रह गरेपछि पर्खिएका यमदूतलाई समेत दाजुसँगै राखेर टीका लगाएपछि चेलीको सम्मानबाट यमदूत खुशी भएको किंवदन्ती छ ।

उनले बरदान माग्न भनेपछि बहिनीले दाजुलाई यमलोक नलैजान गरेको अनुरोधलाई यमदूतले स्वीकारेको बताइन्छ । यसबाट चेलीको मायाले दाजुभाइको मृत्यु समेत हरण भएको जनविस्वास रहँदै आएको छ ।

लामो समयसम्म भेटघाट नभएका दाजुभाइ र दिदिबहिनीको भेटघाट हुने यो पर्वलाई आपसी माया र सद्भाव साट्ने पर्वको रुपमा समेत हेरिन्छ । भाइटीका लगाएर मिठो खानेकुरा खाएपछि तिहार पर्व विधिवत रुपमा सकिन्छ ।

टिप्पणीहरू