तिहार र सेलरोटी :एकार्काको पर्यायवाची

तिहार र सेलरोटी :एकार्काको पर्यायवाची

तिहार भन्नेबित्तिक्कै सबैले सप्तरंगी टीका र मालाको चाडको रुपमा बुझ्छन् । आफ्नो दाजुभाइको सुःस्वास्थ्यको कामना गर्दै दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिने गर्दछन् । सप्तरंगी टीका र माला लगाएका दाजुभाइ निकै नै आकर्षित देखिन्छन् ।

तिहार अस्तिदेखि शुरु भइसकेको छ । लक्ष्मीपूजादेखि साँझ र रातको समयमा द्यौसी खेलिन्छ । द्यौसीभैलोमा भट्ट्याउनेहरुले सेलरोटीको प्रसंग निकाल्छन् । यसले पनि तिहारमा सेलरोटीको महत्वलाई दर्शाउँछ ।

तिहारमा अधिकांशको घरमा सेलरोटी पकाइन्छ । धेरैजसोले वर्षभरिको सेलरोटी खाने तलतल पनि तिहारमै पूरा गर्छन् । सेलरोटी खान मन पराउनेहरु जति भेटिन्छन्, बनाउन जान्ने कम हुन थालेका छन् ।

पछिल्लो प्रविधिले नेपाली समाजमा पुराना ढिकी र जाँतोलाई विस्थापन गरिसकेको छ । परम्परागत रुपमा ढिकी, जाँतो र सिलौटोमा पिठो पिसेर काँडे सेलरोटी बनाउने परम्परा अहिले सकिएको छ । मिक्स्चरमा पिठो पिसेर बनाइएको सेलरोटी चिल्लो देखिए पनि स्वाद काँडे नै मीठो हुने बूढापाकाहरु बताउँछन् ।

तिहारको तयारीमा सबैभन्दा बढी दिदीबहिनीहरु व्यस्त देखिन्छन् । उनीहरु आफ्ना दाजुभाइलाई टीकासँगै प्रदान गर्न सेलरोटीसँगै अनरसा,फिनी,अर्सा,झिलिङ्गा पकाउन खट्छन् । कतिपयले बजारमा खरिद गरेर भए पनि आफ्नो इच्छा पूरा गर्छन् ।

‘पहिले ढिकीमा पिँधेर सेलरोटी बनाइन्थ्यो,’ भक्तपुरकी ६० वर्षीया उर्मिला मैनालीले भनिन् । ढिकीमा पिसेको पिठो खस्रो हुने भएकाले सेलरोटी पनि राम्रो हुने मैनालीको अनुभव छ । उनी भन्छिन्, ‘तिहारमा सेलरोटी पकाइएन भने पर्व नै अपुरो हुन्छ ।’

भक्तपुरको सल्लाघारी बस्ने लीला केसीले पनि तिहारमा थरिथरिका पकवान तयार पार्ने गरेको बताइन् । उनले तिहारको लागि भनेर अनरसा र पत्रे पकाइसकेको बताइन् । ‘सेलरोटी पकाउने तयारीमा छु,’ केसीले भनिन् ।

त्यस्तै, भक्तपुरकी सुष्मा घिमिरे पनि सेलरोटी पकाउने तयारीमा जुटिसकेकी छिन् । ‘तिहारमा सेलरोटी अनिवार्य हो,’ उनले भनिन् । लक्ष्मी पूजामा चढाउन र दाजुभाइलाई उपहार लान प्रयोग गरिन्छ । तीन दाजुभाइलाई टीका लगाउनुपर्ने भएकाले अहिलेदेखि नै सेल पकाउने तयारी गरेको उनले बताइन् ।

तिहारमा पकाइएको सेलरोटी, अनरसा, फिनीहरु हप्तौंसम्म प्रयोग गर्न मिल्छ । मौसम समेत चिसो भएकाले तिहारमा पकाइएका खानेकुराहरु लामो समयसम्म सुरक्षित राख्न मिल्छ । त्यसैले पनि तिहारमा एकैचाटि धेरै दिनलाई पुग्ने गरि सेलरोटी बनाउने गरिएको हो ।

चिकित्सकहरुले भने तिहारमा धेरै चिल्लो र धेरै गुलिया मिठाइ नखान सुझाव दिएका छन् । धेरै चिल्लो र गुलियोले कोलेस्टेरोल बढाउने चिकित्सकहरुको भनाइ छ । चिल्लो र गुलियोको अत्यधिक प्रयोगले रक्तचाप र मधुमेह वृद्दिमा सहयोग पुग्छ ।

टिप्पणीहरू