कुन–कुन प्रोजेक्ट क–कसलाई ?

तमोरलगायत नेपालका दशवटा ठूला जलविद्युत्मा काम गर्ने इच्छा उत्तरी छिमेकी मुलुक चीनले राखेको छ । प्रत्येक प्रदेशमा कम्तीमा एउटा ठूलो अर्थात् २ सय मेगावाटसम्मको परियोजना निर्माण गर्ने नेपालको योजना बुझेपछि चीनले पनि यस्तो इच्छा देखाएको हो । तर, यो क्षेत्रमा लगानी गर भनेर नेपालले भनिसकेको छैन । स्रोतका अनुसार धमाधम योजना छनोट भइरहेको छ । हालसम्म उत्तरले नेपालमा जम्मा १३ वटा जलविद्युत् आयोजनामा काम गर्दै आएकोमा तीनवटा निर्माण पूरा भएको छ भने ११ वटा बन्दै छन् ।


त्यसो त भारतीय कम्पनीले टेण्डर पाए पनि सिभिल इञ्जिनियरिङतर्फ चिनियाँसँग प्रतिस्पर्धा गर्न गाह्रो पर्ने भएकाले यस्ता काम उतैकोलाई दिने गरेको स्रोत बताउँछ । प्रधानमन्त्री केपी ओलीको पनि विशेष चासो रहेकाले तमोर परियोजना चिनियाँले नै पाउने पक्का भएको छ । सिञ्चाइ सचिव भएर आएका नयाँ सचिवले भने ऊर्जा मन्त्रालयमा पुग्नेबित्तिकै रमिता देखाएका छन् । दुर्घटनामा परेर सिञ्चाइ सचिव रामानन्दप्रसाद यादवको मृत्यु भएपछि आएका नयाँ सचिव डा. सञ्जय शर्मालाई ऊर्जामन्त्री वर्षमान पुनले ‘तपाईं प्रधानमन्त्रीको विश्वास जितेर त आउनुभयो होला । अब सिधै रिपोर्टिङ पनि त्यतै गर्नुहोला तर यदि दायाँबायाँ भयो भने म सहसचिव र डिजीबाट काम गराउँछु, तपाईंको काम झिंगा मारेर बस्ने मात्रै पनि हुनसक्छ’ भनेर अत्याएको स्रोतले बताएको छ । तर, मन्त्री पुनलाई त्यसरी कडा रुपमा प्रस्तुत हुनचाहिँ तिनै सचिवले बाध्य पारेको बुझिएको छ । हुन पनि उनले कार्यालय पुगेको पहिलो दिनमै अपाच्य फूर्ति र धाक लगाएको बताइन्छ । 


स्रोत भन्छ, ‘नयाँ सचिवले पहिलो दिन मन्त्रीलाई सामान्य सम्मान र आदरभावसमेत देखाएनन् । हजुर म आएँ, नयाँ जिम्मेवारीसाथ समेत भनेनन् ।’ बरु सिञ्चाइ सचिवको मन्त्रीसँगको पहिलो संवाद नै यस्तो थियो, ‘म सञ्जय शर्मा नयाँ ऊर्जासचिवको रुपमा यहाँ आएँ भनेर जानकारी दिन आएको ।’ मन्त्रीले भने, ‘ल राम्रो, धन्यवाद ! स्वागत छ, तपाईंलाई सचिवज्यू !’ त्यसपछि उनले फेरि भने, ‘अँ यहाँ कर्मचारी साथीहरुले स्वागत कार्यक्रम राखेछन् । एकपटक हजुर पनि जानुप¥यो ।’ मन्त्रीले व्यस्त रहेकाले सचिवलाई जाँदै गर्न भने र आफू पछि आउने बताए । तर, सचिवले अर्को प्रस्ताव राखे, ‘तपाईं नभ्याउने भए कुनै प्रतिनिधि पठाइदिनू न !’ उनको कुरा सुनेपछि मन्त्रीले कार्यक्रम सक्नुस् अनि भेटौंला भने । सचिवले फूर्ति लाउन छाडेनन्, ‘हैन हैन, मेरो त्यहाँ बोल्ने कार्यक्रम पनि छ, त्यसैले प्रतिनिधि पठाइदिनुप¥यो हजुरले !’ मन्त्रीले पछि के बोल्न लागेको रहेछ र सुनाउन यत्रो मरिहत्ते रहेछ भनेर एक विश्वासपात्रलाई पठाए । त्यहाँ सचिवको अर्कै फूर्ति । भन्दै थिए, ‘प्रधानमन्त्रीले देशलाई भ्रष्टाचारमुक्त बनाउने, विकास र समृद्धिको दिशामा अघि बढाउने भन्नुभएको छ । हुन त यहाँ मन्त्रीज्यू पनि हुनुहुन्छ तर म काम गर्ने उत्साहको साथ आएको हुँ ।’ यस्तो धक्कु सुनेपछि मन्त्रीले आफ्ना सहयोगीमार्फत ऊर्जासचिव अनुप उपाध्यायलाई सिञ्चाइ सचिवलाई सम्झाउन लगाएका छन् । ऊर्जासचिवले पनि डिजीमार्फत काम गराएर सञ्जयलाई पेण्डुलम पार्नु नै सही हुने सल्लाह दिएपछि शर्मा साइजमा आएको बताइन्छ । ऊर्जा सचिवलाई प्रधानमन्त्रीले अरु सचिव हेरफेर गर्दा पनि चलाएका थिएनन् ।


स्रोतका अनुसार बिना मगरले सम्हालेको खानेपानी मन्त्रालयको सचिव पनि फेरिएपछि चाहिँ असन्तुष्टि बढेको हो । नत्र अन्य सचिवको सरुवा सल्लाहमा नै भएको थियो । वर्षमान पुन र रक्षामन्त्री ईश्वर पोखरेल सँगै रहेका बेला सचिव विनोद केसीले ‘मन्त्रीज्यू, मेरो त सरुवा भयो, चिठी बुझ्न जानुपर्ने भो’ भन्न आए । मन्त्रीले ‘कहाँ हुनु क्याबिनेट नै बसेको छैन । म यहीं छु’ भन्दै गर्दा सचिव सरुवाको पत्तो पाएका हुन् । 

पोखरेलले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई सोध्दा, ‘मुख्यसचिवले केरेर ल्याएअनुसार हिजो राति पो यस्तो निर्णय गरियो’ भन्ने जवाफ पाएको बताइन्छ । ऊर्जा मन्त्रालयस्थित सचिवको कार्यकक्षमा नै कुलमान घिसिङ र जलविद्युत् विकास बोर्डका डिजी नविन सिंहबीच झण्डै हात हालाहाल भएको खबर छ । कुलमानले ‘सबै काम मैले गरें’ को परिभाषा प्रयोग गरेपछि पहिले सुमन शर्माको पालादेखि नै हो नि काम राम्रो भएको । त्यसमाथि टिमवर्कको जस एक्लै लिएर सेलिब्रिटी बन्न खोज्ने भन्दै सिंहले आपत्ति जनाउँदा माहौल तातेको बताइन्छ । घिसिङले तिमी लाइसेन्स दलाल भनेपछि उनीहरुबीच घम्साघम्सी नै परेको थियो । उता तनहुँ हाइड्रोले भने पत्रकारहरुलाई खाममा राखेर पैसा बाँड्ने गरेको चर्चा छ । ऊर्जा खबरका सम्पादक लक्ष्मण वियोगीले तनहुँ हाइड्रोको प्रेस हेर्ने अर्का पत्रकारलाई त्यसरी पैसा नपठाउनू भन्दै थर्काएको बताइन्छ । त्यसो त केही समयअघि सिनो हाइड्रोको प्रायोजन र तनहुँ हाइड्रोको संयोजनमा पत्रकार विकास थापासहित चार जना पत्रकारको टोलीलाई चीन भ्रमण गराइएको छ ।

टिप्पणीहरू