प्रधानन्यायाधीश राणालाई पूर्वप्रधानन्यायाधीशको जवाफ : मेरो विवेक जनताले नै जाँच्छन्

प्रधानन्यायाधीश राणालाई पूर्वप्रधानन्यायाधीशको जवाफ : मेरो विवेक जनताले नै जाँच्छन्

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रधानन्यायाधीशको हैसियतमा आफूले गरेका निर्णयहरु विवेकसम्मत भए–नभएको निर्णय जनताले मात्रै गर्नसक्ने बताउनुभएको छ । आज एक कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणातर्फ इंगित गर्दै श्रेष्ठले आफ्नो विवेकबारे आफैँले दावी नगर्ने बताउनुभएको हो ।

केही दिनअघि एक टेलिभिजन कार्यक्रममा प्रधानन्यायाधीश राणाले बौद्धिक, अध्ययनशील र सक्षम हुँदाहुँदै पनि श्रेष्ठलाई विवेक नभएको मान्छेका रुपमा चित्रित गर्नुभएको थियो । त्यसको जवाफमा श्रेष्ठले आफूले गरेका निर्णयहरुमा कति विवेक पुगे, पुगेनन् भन्ने विषय जनताको माझमा रहेको भन्दै जनताले नै निर्णय गर्न सक्ने बताउनुभएको हो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपालको प्रजातन्त्र कम्पनीको रुपमा विकसित भएको टिप्पणीसमेत गर्नुभएको छ । प्रजातन्त्र दलहरुको बाँडफाँडमा परेको भन्दै उहाँले राजनीतिक पार्टीहरुले हरेक विषयमा निर्णय गर्दा आफ्नो भागमा के पर्छ भन्ने स्वार्थले हेर्ने गरेको आरोप लगाउनुभयो । प्रजातन्त्र जनतालाई नभई केवल दलहरुलाई मात्रै आएको उहाँको भनाइ छ ।

राजनीतिक दलहरुले जनतामाथि आफ्नो अधिपत्य जमाउनका लागि थर्काउने र तर्साउने गरेको पनि श्रेष्ठले बताउनुभयो । राजनीतिक दलहरुको यस्ता गलत प्रवृत्तिका कारण नै प्रजातन्त्रले सहि दिशाबोध गर्न नसकेको उहाँको ठहर छ । उहाँले संविधानको कार्यान्वयन गर्नका लागि राज्य आर्थिक रुपले सुदृढ हुनुपर्ने धारणा समेत राख्नुभएको छ ।

टिप्पणीहरू