क्याबिनेटमा मोदी आउनेबारे गम्भीर कुरा

अस्ति सोमबार राति अबेरसम्म बसेको क्याबिनेट बैठकमा भारतीय विशिष्ट अतिथिको नेपाल भ्रमणसम्बन्धी जनकपुरमा के तयारी हुँदै छ भनेर निकै गम्भीरतापूर्वक कुरा उठेको छ । स्रोतका अनुसार ‘स्वागतमा भएको तयारीबारे ख्याल गरिएको छ कि छैन ? देशको सार्वभौमिकता नै पो मेटिने हो कि भन्ने चिन्ता हुने गरी हिन्दी भाषामा तुल र ब्यानर झुन्ड्याइएका छन् । त्यो हेर्दा जनकपुर छिमेकीको एउटा प्रान्त पो हो कि जस्तो देखिएको छ’ भन्दै मन्त्रीहरूले आपत्ति जनाएका थिए । निम्तो केन्द्रीय सरकारको तर हर्ताकर्ताचाहिँ सबै प्रदेश सरकारका ! त्यहाँ के भएको हो ?

ख्याल गर्नुपर्छ कि पर्दैन ? भन्दै मन्त्रीहरूले चासो देखाएपछि प्रधानमन्त्रीले हस्तक्षेप गर्दै भन्नुभयो, ‘पहिले पनि तपाईंले जानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्ने रहर देखाएको हो । तर, त्यसबेला समय अनुकूल भएन । अब आउनुहोस् न हेर्नुस् भनेर मैले नै बोलाएको हो । त्यसमा शंका गर्नु भएन ।’ यो भ्रमणमा कृषिमा लगानी र विस्तार, साझेदारी र सुदृढीकरणको सम्झौता हनेछ । रेल्वे कनेक्टिभिटी र व्यापार तथा पारवहन सन्धिबारे छलफल गरिन्छ र तराईमा भएको डुबान समस्याबारे कडाइसाथ कुरा राखिन्छ’ प्रधानमन्त्रीको भनाइ थियो । मन्त्रीहरू त विदेश जाने नै भए एउटा लटमा १४ जनासम्म कर्मचारी ओइरिने गरी । स्वास्थ्य मन्त्रालयले ल्याएको प्रस्तावमा अरूको नाम काटेर जम्मा ६ जनाको संख्या निर्धारण गरिएको छ । त्यसमा पनि ३ जना विश्व स्वास्थ्य संगठनको मुख्यालय रहेको जेनेभामा अवस्थित दूतावासबाट र ३ जना नेपालबाट जाने हिसाबले । त्यसैगरी पशुपक्षीसम्बन्धी एउटा सम्मेलनमा भाग लिन जेठ ६ देखि ११ सम्म ८ जनाको समूह पेरिस जाने गरी आएको प्रस्तावलाई काटेर २ जना मात्र जान दिने निर्णय साँझ ६ देखि ९ बजेसम्म बसेको क्याबिनेट बैठकले गरेको छ ।

टिप्पणीहरू