योगेशद्वारा माधवको पार्टी अवैध घोषित

योगेशद्वारा माधवको पार्टी अवैध घोषित

माधव नेपालसङ्ग लामो सहकार्य गरेका एमाले नेता योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) लाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका छन् । भट्टराई एमालेको नवौँ महाधिवेशनमा माधव प्यानलबाट सचिवमा निर्वाचित भएका थिए ।

तत्कालीन नेकपाको अन्तरसंघर्षमा माधव-प्रचण्डको पक्षमा लागेका भट्टराई प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा पनि उत्रिएका थिए । संविधानविपरित संसद विघटन गरेको भन्दै त्यैबेला उनले ओलीलाई सताच्युत गरेरै छाड्ने चेतावनी दिएका थिए ।

नेकपा विभाजनपछि एमालेमै फर्किएका भट्टराई पछिल्लो समय भने ओलीको प्रशंसक छन् । उनै भट्टराईले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिंदै माधव नेपाललाई एमालेको आसन्न महाधिवेशनमा निम्ता नगर्ने बताए ।

चितवनमा हुने पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुहरुलाई मात्र बोलाउने बताउँदै उनले अवैध सम्बन्ध र गर्भाधारणबाट जन्मिएको एकीकृत समाजवादी पार्टीलाई बोलाइरहनु नपर्ने बताए । उनले एकीकृत समाजवादी पार्टीलाई पहिचान र ठेगाना नभएको भन्दै कटाक्षपूर्ण टिप्पणी पनि गरे ।

‘नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुलाई निमन्त्रण दिने कुरामा एकीकृत समाजवादीको पनि पत्रकार साथीले नाम लिनुभयो, प्रमुख राजनीतिक दलहरुलाई हामीले निमन्त्रणा गर्ने हो,कतिपय राजनीतिक दलको पहिचान र ठेगाना नै स्पष्ट छैन,अवैध सम्बन्ध,अवैध गर्भधारणबाट बनेका पार्टीहरु छन्, त्यस्तालाई महाधिवेशनमा बोलाइरहनुपर्छ जस्तो लाग्दैन’,उनले भने ।

एमालेको प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले गठबन्धन सरकारका कारण मुलुकमा संविधान मिचिएको र संवैधानिक अंगहरुमाथि हस्तक्षेप भएको पनि भन्न भ्याए । गठबन्धन सरकारले संवैधानिक अंगहरुमा स्वेच्छाचारिताको गम्भीर प्रश्न उठेको बताउँदै उनले शक्तिहरुको स्वार्थमा देशमा राजनीतिक अस्थिरता पैदा भएको आरोप लगाए । केही महिना पहिले भट्टराईले यस्तै आरोप ओलीमाथि लगाउने गरेका थिए ।

टिप्पणीहरू