आज विश्वभरका नेपालीको घर घरमा लक्ष्मीपूजा मनाईंदै

आज विश्वभरका नेपालीको घर घरमा लक्ष्मीपूजा मनाईंदै

आज तिहारको तेस्रो दिन अर्थात लक्ष्मीपूजा । धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर मनाइन्छ । लक्ष्मीपूजालाई तिहारको सबैभन्दा महत्वपूर्ण दिनको रुपमा समेत लिइन्छ ।

उज्यालो र प्रकाशको रुपमा देवी लक्ष्मीलाई लिने गरिन्छ । पौराणिक कथाअनुसार आजको दिन धन, समृद्धि,शुभ र सौभाग्यकी देवी लक्ष्मी खुशियालीका साथ आफ्ना भक्तजनहरुलाई भेट्न आउँछिन् ।

आज बिहानैदेखि घर,पसल, कार्यालयलाई सफासुग्घर बनाइन्छ । झयाल,ढोका,कौसी,भर्याङलगायत ठाउँमा बत्ती बालेर उज्यालो बनाइन्छ ।

बत्ती नबलेको घरमा देवी लक्ष्मीको बास हुँदैन भन्ने जनविश्वास रहिआएको छ । धनकी देवी लक्ष्मी जति खुशी हुन्छिन् त्यति नै परिवारमा स्वास्थ्य र धनलाभ हुने मान्यता पनि व्यापक छ ।

आजको रातलाई सुखरात्री पनि भनिन्छ । घरघरमा आजका दिन देवी लक्ष्मी भित्राइन्छ । घरको आँगनदेखि लक्ष्मी स्थापना गरिएको कोठासम्म रातो माटोले लिपेर लक्ष्मी आउने मार्ग तयार पार्ने गरिएको छ । आजको दिन घरमा लक्ष्मीको बास भएमा वर्षभरि आर्थिक संकट नहुने धार्मिक जनविश्वास रहेको छ ।

आज साँझ भैलो खेल्ने चलन छ । विशेषगरी युवती र महिलाहरुले समूह बनाई घरघरमा गई हर्षोल्लासकासाथ भैलो खेल्छन् । यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान,चामल,पैसा,फलफूल,मिठाई र सेलरोटी दिने चलन छ । भैलो खेल्न आएकाले उपहार पाएपछि आशिष समेत दिने गर्छन् ।

लक्ष्मीपूजाको रातभर शहरबजार सबै उज्यालो देखिन्छ ।

टिप्पणीहरू