भोजै नखाई नेता भाउन्न

चारतारे पार्टीभित्र जग्गाको लफडा मच्चिएको छ । सोही कारण एउटा गुटका नेताले अर्काे खेमालाई खुइल्याउन थालेका छन् । अप्ठ्यारो अवस्थामा मिल्नुपर्ने कांग्रेसी नेताबीच नै पानी बाराबारको स्थिति भएको र एउटा नेतालाई भेट्दा अर्काेथरी मुख लुकाएर भाग्न थालेको घटना हो ललितपुर कांग्रेसभित्रको । जसरी राप्रपाका नेता दिलविकास राजभण्डारीको जग्गा कमल थापाले हडपेर पार्टी कार्यालय बनाए सोही शैलीमा अहिले ललितपुर कांग्रेसको जग्गा विवाद चरमोत्कर्षमा पुगेको छ । सभापति मदनबहादुर अमात्यले जिल्लाकै पुराना नेता ओमकार श्रेष्ठविरुद्ध अघिल्लो साता अदालतमा मुद्दा दर्ज गराएका हुन् । ललितपुर–१४ नख्खीपोटमा कांग्रेसको पार्टी कार्यालय भवन छ । कित्ता नम्बर ६१२ को आठ आना जग्गा ०४७ साल चैत ११ गते धर्म र कृष्णले कांग्रेस पार्टीलाई दान दिएका रहेछन् । सो जग्गा ओमकार श्रेष्ठ सभापति रहेका बेला आफ्नै नाममा पास गराएको मदन अमात्यहरूको आरोप छ । जग्गा फिर्ता गर्न नमानेको भन्दै उनीविरुद्ध मदनहरू अदालत पुगेका हुन् ।

उता, कांग्रेस नेत्री ललिता खानियाँँले ऐलानी जग्गालाई आफ्नो नाममा पार्ने नयाँ चाल रचेकी छन् । ललितपुर महालक्ष्मी नगरपालिका–५ हनुमन्ते पुलनजिकै (मोतीनगरमा) रहेको तीन रोपनी जग्गा खनियाँ परिवारले भोगचलन गर्दै आएको थियो । सोही जग्गा ऐलानी ठहर भएपछि आफ्नो हातबाट उम्कन नदिन रातारात ११ सदस्यीय सामुदायिक भवन निर्माण समिति गठन गरी आफैं अध्यक्ष बनेर ऐलानी जग्गामा भवन निर्माण प्रक्रिया सुरु भएको छ । सोमबार मात्र उक्त जग्गामा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले भवन शिलान्यास गरेका छन् । एउटा नेताको दबाबमा सो सामुदायिक भवन निर्माणका लागि ५ नम्बर वडा कार्यालयले १५ लाख रकम विनियोजन गरिदिएको छ ।

ललितपुर कांग्रेसभित्रको किचलो कस्तोसम्म छ भने केही साताअघि मदनकृष्ण अमात्यले धर्मपुत्र बनाएर पालेका जयकृष्ण बोगटीको छोराको व्रतबन्धमा भोज खान पुगेका मदनकृष्ण अमात्य रामकृष्ण चित्रकारलाई देख्नेबित्तिकै ‘यस्तो अन्तर्घातीलाई यहाँ कसले बोलायो ? अनि यसलाई बोलाएको ठाउँमा मलाई किन बोलाएको ? भन्दै भोजै नखाई फर्किएको बताइन्छ । अस्ति मात्र पवनविक्रम थापाहरूले आफ्नो गुटका नेतालाई बोलाएर नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राखेका थिए । आगामी शनिबार जितेन्द्र मलेखुले हजारभन्दा बढी जिल्लाका सबै नेतालाई आमन्त्रण गर्दै चियापान कार्यक्रम आयोजना गर्दै छन् ।

मदन अमात्यहरूको समूहले गत वर्ष सम्पन स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई पराजित गर्ने मुख्य कमाण्डरको आरोप महासमिति सदस्य ओमकार श्रेष्ठलाई लगाएको छ । उनीसहित २७ नेतालाई कारबाही सिफारिस गरेको पत्र जनआस्थाले फेला पारेको छ । श्रेष्ठसहित कारबाही सिफारिस गरिएका नेतामा चुनाव हराउने अर्का कमाण्डर रामकृष्ण चित्रकार, जितेन्द्र मलेकु, प्रमोद श्रेष्ठ, केवल लामा, भरत न्याछयों, विकास रोक्का, निरु खड्का, गोकुल खड्का, महेश खड्का, शशि श्रेष्ठलगायत छन् ।

टिप्पणीहरू