रातारात कसले खन्यायो त्यो रकम ?

जनकपुरमा के–के हुँदै छ थाहा पाउनुभयो भने पक्कै पनि अचम्म लाग्ला ! हिजोका मितिसम्म प्रदेश सरकारहरु माथिबाट एकसुका आएन, बजेट भएन र खर्चको अख्तियारी पनि पाइएन भन्दै थिए तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि अहिले जनकपुरमा मेशिनबाट नोट छापेर बिस्कुन फुकाएसरी खर्च भएको देखिँदै छ जबकि अहिले पनि केन्द्र सरकारले त्यहाँ पैसा पठाएको छैन । सानोभन्दा सानो काम गर्न पनि प्रदेश सरकारले स्रोत, साधनको अभाव देखाउने, चोक–चोकमा बत्ती फिट गर्न र शौचालयमा फिनेल राख्नसमेत पैसा छैन भन्ने गर्दै आएकोमा मोदीको स्वागतार्थ छक्कै पर्ने गरी पूरै जनकपुर रंगिएको छ । जानकी मन्दिर जाने मुख्य सडकको दायाँबायाँका सबै घर एउटै रङले रंगाइएका छन् जबकि घरबेटीले त्यसनिम्ति पैसा खर्च गरेको छैन । सडकका पर्खालहरु सेतो र घरहरु पहेँलो रङले पोतिएका छन् । भित्ताहरुमा ‘मधुवनी आर्ट्स’ मा पेन्टिङसमेत गरिएको छ जबकि घरका भित्तामा सजाइने आधी मिटरको एउटै पेन्टिङ तयार पार्न पनि दुई हजार कम्तीमा खर्च लाग्छ । त्यहाँ क्लबहरु यति धेरै शक्तिशाली र सुविधासम्पन्न बनाइएका छन् कि रामानन्द क्लब, रामजानकी क्लबले जति पनि खर्च गर्न सक्छन् ।

स्रोतका अनुसार दूतावासबाट सिधै कोष प्राप्त गर्ने त्यस्ता क्लबहरुलाई बाँड्न भारत सरकारले राम्रै व्यवस्थापन मिलाएको बुझ्न गाह्रो छैन । अझ रमाइलो त यो छ कि यसचोटि जनकपुरमा मोदी पक्कै आउँदै छन् भनेर देशवासीले भर्खरै मात्र थाहा पाए तर टाठाबाठा त्यहाँका केही बासिन्दाचाहिँ पहिले नै यसबारे सुसूचित रहेछन् । राज्य हुनु र नहुनुको आभाष र अनुभूति भ्रमणको तयारीमा गरिएको स्रोत–साधन परिचालनले मात्र होइन कि त्यहाँ स्वागत गर्न आतुरहरुमा देखिएको अनुपम एकताले पनि प्रष्ट्याएको छ । सरसफाइ र वातावरणको नाममा दृष्य–अदृष्य पैसा त ओइरियो नै चासो पनि कस्तो भने चुनाव जितेका राजेन्द्र महतो र हारेका विमलेन्द्र निधि दुवै सरसफाइ र क्लब परिचालनमा उत्तिकै सक्रिय छन् । त्यो खर्च त पक्कै पनि नेताको खल्तीबाट भएको होइन । उताको आरएसएसजस्तै हिन्दु स्वयंसेवक संगठन यहाँ पनि निकै सक्रिय छ । त्यसको सञ्जाल यति बलियो कि गाउँ–गाउँमा खैरो पाइन्ट, टिसर्ट र गेरु झण्डा, श्रीराम लेखेको कपडामा बसका बस मान्छे ओसार्ने तयारीमा उनीहरु लागेका छन् । त्यो पैसा नेपाल सरकारले छुट्याएको होइन । पर्साबाट ५० हजार, रौतहटबाट त्यति नै मात्रामा मान्छे ल्याइँदैछ । सानो चार पांग्रे गाडीसमेत बुक, बसहरु पनि रिजर्भ गरिएको छ । अहिलेदेखि नै सर्वसाधारणका लागि यातायातको अभाव हुन थालिसकेको छ । यो सबै काममा राज्यको सहभागिता कहाँ छ ? भारतीय प्रधानमन्त्रीलाई निम्ता गर्ने र भिआइपीहरु स्वागत गर्न जानेबाहेक राज्यले अरु कुनै भूमिका निर्वाह गरेको छ ? अहिले त्यहाँका होटल र लजहरु सादा पोशाकका भारतीय सुरक्षाकर्मीहरुले भरिभराउ रहेको स्रोतले बताएको छ । जनकपुरमा एक जुगमा एक दिन एक चोटि आउँछ भनेजस्तै भएको छ ।

हुन त यो एक अवसर पनि होला तर परम्परागतभन्दा पनि भिन्न हिसाबले जनकपुरलाई आगमन बिन्दु बनाइएको छ । पहिले–पहिले काठमाडौं टेक्ने र यहाँबाट अन्य भागमा जाने हुन्थ्यो तर यसपटक पहिले जनकपुर आउने र त्यसपछि मात्र काठमाडौं भित्रिने योजना छ । आफ्नै हेलिकप्टरमा यात्राको शुभारम्भ गर्न लागिएको छ । विश्लेषकहरुचाहिँ यसपटकको भ्रमणलाई धार्मिक कारण कम र मनोवैज्ञानिक प्रभाव छोड्ने रणनीति बढी भएको रुपमा व्याख्या गरिरहेका छन् । मधेसप्रति भारतीय चासो, चिन्ता र सरोकार विगतझैं ठूलो मात्रामा छ भन्ने सन्देश पनि केन्द्रीय सरकारलाई छाड्न खोजिएको होला । मधेसको पनि भारतप्रतिको जुन गुनासो थियो, त्यसलाई संबोधन गर्न खोजिएको होला । हामीलाई अगाडि सारेर नाकाबन्दी लगाए तर अन्त्यमा त्यसै अलपत्र छाडिदिए भन्ने मधेसीहरुको चित्त दुखाइ थियो । यसबाट भारतले स्वार्थको सम्बन्ध मात्र मधेसीहरुसँग राखेको होइन भन्ने प्रमाणित गर्न खोजिएको पनि देखिन्छ ।

त्यसबाहेक सन् २०१८ को आधा वर्ष भइसकेकोमा अब डेढ वर्षभित्र भारतमा हुन गइरहेको लोकसभाको चुनावलाई पनि मध्यनजर गर्दै यो भ्रमण तय गरेको देखिन्छ । जनकपुरसँग सिमाना जोडिएको बिहारमा बिजेपी तेस्रो स्थानमा छ । जनकपुरको पारिपट्टि सीतामढी छ । सीताको वास्तविक जन्मथलो त्यो हो भन्ने व्याख्या र प्रचार गरिरहेका छन् उनीहरुले । लुम्बिनीको डुप्लिकेट बनाएझैं जनकपुरको अर्को प्रतिलिपि बनाउने सुर स्पष्ट छ । यसबाहेक रामायण सर्किटको योजना पुरानै हो । अब जनकपुर आएर मोदीले दुई÷चार शब्द मैथिलीमा बोलिहाल्छन् । त्यसो त पटनाबाटै जनतालाई हात हल्लाउँदै गाडीमा आउन खोजेका थिए । तर, गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा दिन सकिन्न भनेपछि मात्र आफ्नै हेलिकोप्टरमा आउने भएका हुन् पाहुना ।

– स्थलगत भ्रमणपछि राजकुमार रायबाट

टिप्पणीहरू