मान्छेको अन्न,गाईलाई टन्न

मान्छेको अन्न,गाईलाई टन्न

मान्छेका लागि भनेर बेच्न राखिएको खाद्यान्न गाईवस्तुको आहार बनेको छ । पसलमा खुल्ला राखिएका कारण कतैबाट वस्तुभाउ पसेर खाइदिएको होइन । बकाइदा बोरामा प्याकिङ गरिएको चामल, त्यो पनि थोरै होइन ६३ बोरा । अनुगमन टोलीले नारायणगढ,चितवनको एउटा पसलबाट जफत गरेर गाईवस्तुलाई खुवाउन पठाइदिएको हो ।

बाहिरबाट हेर्दा चामल नराम्रो वा कुहिएको,बिग्रेको पनि होइन,राम्रै थियो । मात्र प्याकिङ गरेको बोरामा लेबल विवरण (उत्पादन मिति, उपभोग्य मिति) नखुलाइएको कारण त्यत्रो चामल जफत भयो । खाद्य ऐनअनुसार प्याकिङ गरेका खाद्यवस्तुमा लेवल विवरण अनिवार्य हुनुपर्ने, नभएमा सरकारले जफत गरेर त्यसलाई नष्ट गर्न सक्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चितवनका प्रमुख घननाथ अधिकारी बताउँछन् ।

पछिल्लो समय चितवनमा कडाइका साथ बजार अनुगमनलाई तीव्र पारिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वमा गएको घरेलु तथा साना उद्योग कार्यालय,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, जिल्ला प्रहरी,सशस्त्र प्रहरी, उपभोक्ता अधिकार संरक्षण मञ्च र भरतपुर महानगरपालिका सम्मिलित अनुगमन टोलीले भरतपुर–३, आनन्दमार्गस्थित श्री ट्रेडर्सबाट जफत गरी ल्याएको श्रीकृष्ण ब्राण्डको ३० केजीका १५ बोरा र कलश ब्राण्डको ३० केजीकै ४८ बोरा चामल बागीश्वरीस्थित योगी नरहरिनाथ आश्रमको गौसंरक्षण केन्द्रमा पालिएका गाईलाई खुवाउन भनी पठाइएको हो ।लेवल नभएको खाद्यसामग्री मात्र होइन घरेलु तथा साना उद्योगमा दर्ता नभएको र बिलबिजक अध्यावधिक समेत नभएको पाइएको श्री ट्रेडर्सलाई रु. १० हजार जरिवाना पनि गरिएको छ ।

गत आइतबारकै अनुगमनबाट आनन्दमार्गकै रिसु ट्रेडलिंकलाई त झन् रु. तीन लाख जरिवाना गरिएको अनुगमन टोलीमा सहभागी जिल्ला प्रशासन कार्यालय, चितवनका खरिदार श्यामसुन्दर ढकालले बताए । रिसु ट्रेडलिंकमा साइन बोर्ड एवम् मूल्यसूची समेत नराखेको, लेवल विवरण नभएका र खाद्य अनुज्ञापत्र नलिई उत्पादन भएका खाद्यपदार्थ फेला परेको थियो ।

बताइएअनुसार रिसु ट्रेडलिंकमा वीरगञ्ज र इण्डियातिरबाट ल्याइएका अखाद्य रंग प्रयोग भएका नक्कली तथा गुणस्तरहीन, सडेगलेका र म्याद नाघेका मिठाइहरु बिक्रीका लागि राखिएको भेटिएको हो । प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ ले निषेध गरेका तथा अनुचित भनी तोकेका कार्य गरेकाले तीन लाख जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्यले बताए । रिसु ट्रेडलिंकबाट जफत गरिएका साना–ठूला प्लाष्टिकका १० बोरा र १ कार्टुन मिठाइजन्य वस्तुहरु सोमबार जिल्ला प्रशासन कार्यालय परिसरमा खाल्डो खनेर गाडिएको खरिदार ढकालले जानकारी दिए ।

अनुगमन टोलीले आइतबार भरतपुर–३ कै ओम सत्यसाई गल्ला पसलबाट लेबल विवरण तथा मूल्य उल्लेख नभएर जफत गरेका नितेश र धिरज ब्राण्डको ५०० र २०० ग्रामका प्याकेट भएको काजु २६ केजी र आल्मोण्ड ३६ केजी पनि बागीश्वरीमा गाईलाई ख्वाउनै भनेर पठाइयो । बताइअनुसार ओम सत्यसाई गल्ला पसलको फर्म नवीकरण नभएको, बिलबिजक पनि अध्यावधिक नभएको पाइएको थियो ।

सोही दिन आनन्दमार्गकै जयमाँ लक्ष्मी ट्रेडर्समा अनुगमन गर्दा फर्मसम्बन्धी कुनै पनि कागजात तत्काल देखाउन नसकेको, मूल्यसूची र साइनबोर्ड नराखेको एवम् बिलबिजक पनि अध्यावधिक नराखेको पाइयो भने सापकोटा सप्लायर्समा सरस्वती डेरी उद्योगको साढे ५५ लि. घिउ विनाबिलको भेटिएको जिल्ला प्रशासन कार्यालय बताउँछ । ‘पछि उसले बिल त पेश गर्यो’, सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘घिउ पनि संदिग्ध खालको भएकाले परीक्षणका लागि पठाएका छौं ।’

– अजय गोर्खाली

टिप्पणीहरू