आज जताततै तिहारको कार्यक्रम, माइतीघरमा सामूहिक कुकुर पूजा

आज जताततै तिहारको कार्यक्रम, माइतीघरमा सामूहिक कुकुर पूजा

आज पनि राजनीतिक दलहरुले तिहार र चाडवाड लक्षित चियापान र शुभकामना आदानप्रदान कार्यक्रम राखेका छन् । आजै काग तिहार, कुकुर तिहार, गोरु तिहार र गाई तिहारलाई विश्व दिवस घोषणा गराउन माग गर्दै काग तथा कुकुर तिहारका दिन अपिलसहित सामूहिक कुकुर पूजा गरिएको छ । कार्यक्रम माइतीघर मण्डलामा बिहान साढे ८ बजे गरिएको हो ।

नेकपा (एमाले) मध्यपुरथिमी नगरको वडा नम्बर १ कमिटीले दिव्यश्वरी पार्टी प्यालेस, लोकन्थली, भक्तपुरमा आज सबेरै चियापान गरेको छ । एमाले गोरखा काठमाडौं सम्पर्क मञ्चले पनि सगुन क्याफे, नयाँ बजारमा बिहान ७ बजे र (एमाले) चाँगुनारायण नगर ८ नम्बर वडा कमिटीले रातोपाटी, भक्तपुरमा बिहान ७ बजे शुभकामना बाँडेको छ ।

यता कागेश्वरी मनोहरा नगरको १ नम्बर वडा समिति कार्यालय र काग निर्माण समितिले विश्वकै ठूलो अष्टधातुको कागको प्रतिमामा माल्यार्पण गरेको छ । कार्यक्रम लोकतान्त्रिक शहीद उद्यान, चिहान डाँडा, गागलफेदीमा बिहान सम्पन्न भएको छ ।

नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा बिहान साढे ७ बजे कृष्णभोग पार्टी प्यालेस, बानेश्वरमा शुभकामना आदानप्रदान गरिएको छ ।

नेपाली काँग्रेस सूर्यविनायक नगरपालिका ७ नम्बर वडा कार्यसमितिले केन्द्रीय सदस्य गगन थापाको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रम ७ नम्बर वडा कार्यालय प्राङ्गण, गुण्डु, भक्तपुरमा बिहान साढे ७ बजे राखिएको हो ।

उता नेकपा (माओवादी केन्द्र) ललितपुर जिल्ला संगठन समितिले ऊर्जा मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीका सल्लाहकार ठक्कर शर्माको निधनमा श्रद्धाञ्जली सभा गरेको छ । कार्यक्रम बुद्ध एकेडेमी, थसिखेल, ललितपुरमा बिहान ८ बजे गरिएको हो ।

नेपाली काँग्रेस ललितपुर महानगरपालिका वडा नम्बर २६ इकाइ कमिटीले आज क्या लाछी सुनाकोठी, ललितपुरमा बिहान ८ बजे शुभकामना आदान प्रदान गरेको हो ।

राष्ट्रिय युवा संघ नेपाल, काठमाडौँ महानगरपालिका ६ नं वडा कमिटीले कुशल बैंकेट, बौद्धमा बिहान ९ बजे त्यस्तै कार्यक्रम गर्यो । नेपाली काँग्रेस ललितपुर महानगरपालिका ६ नम्बर वडा कमिटीले कनिबहाल चोक, ललितपुरमा बिहान ९ बजे शुभकामना आदानप्रदान गरेको छ ।

नेपाल बारले आज पनि सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको बिरोध गरेका छन् । उनीहरुले ११ बजेसम्म पट्टी बाँध्ने छन् ।

राष्ट्रिय जनमोर्चा जिल्ला समिति काठमाडौंले पनि होटल हार्दिक बागबजारमा शुभकामना आदानप्रदान तथा द्यौसीभैलो कार्यक्रम राखेको छ । कार्यक्रम मध्यान्ह साढे १२ बजे हुँदैछ ।

आज एमालेले दिउँसो १ बजे दशौं राष्ट्रिय महाधिवेशनबारे पत्रकार सम्मेलन गर्दैछ । कार्यक्रम शिवसदन हल, अल्फाबिटा हाउस, नयाँ बानेश्वरमा हुने बताइएको छ ।

टिप्पणीहरू