गर्भवती महिलाको जाहेरी गायब भएकै हो त !

गर्भवती महिलाको जाहेरी गायब भएकै हो त !

काठमाडौं महानगरपालिका १३, ताहाचलस्थित जनप्रभात मार्गकी २७ वर्षीया मारवाडी समुदायकी एक महिलाले आफ्ना श्रीमान र ससुराविरुध्द गत जेठमा घरेलु हिंसा गरेको भन्दै जाहेरी दिइन् ।

विवाहअघि दाइजो नचाहिने भनिएको तर विवाहपछि दाइजो नल्याएको निहुँमा बारम्बार यातना दिँदै आएको पनि उनले जाहेरीमा उल्लेख गरेकी थिइन् ।

त्यसको केही महिनापछि श्रीमानले गर्भवती अवस्थामा रहेको बेला आफूलाई घर लैजाने निहुँमा चोभार लगेर जबरजस्ती गरेको भन्दै फेरि कालिमाटीस्थित प्रहरी कार्यालयमा आइतबार अर्को जाहेरी दिएकी छन् । तर मारवाडी समुदायकी ती महिलाले दिएको दुईवटा जाहेरीमध्ये घरेलु हिंसाको जाहेरी गायब पारिएको आरोप लागेको छ ।

यता राष्ट्रिय महिला अधिकार मञ्चले पनि प्रहरीले पीडकसँग मिलेर पीडितलाई बारम्बार मिल्न दबाब दिएको र अहिले उल्टै एउटा जाहेरी नै गायब पारिदिएको आरोप लगाएको छ ।

परिवारले शारीरिक तथा मानसिक यातना दिने गरेको भन्दै ती महिलाले गत साउन १ गते प्रहरीमा लिखित निवेदन दिएको पनि मञ्चको जिकीर छ । जाहेरीलगत्तै कालिमाटी प्रहरी चौकीका प्रमुखलाई जानकारी गराए पनि प्रहरीले ती महिला र श्रीमानलगायतका परिवारका सदस्यलाई राखेर मेलमिलाप गराएको मञ्चको दावी छ ।

जे गरे पनि आफूमाथि हिंसा नरोकिएको र श्रीमानले पटक पटक जबरजस्ती गरेको भन्दै पीडित महिलाले महिला अधिकार मञ्चको कार्यालयमा पुनः जानकारी गराएकी छन् । अस्ति आइतबार पुनः जाहेरी दिन पुगे पनि प्रहरीले उल्टै पीडकसँग मिलेर मिलापत्र गर्न दबाब दिएको मञ्चले आरोप लगाएको छ ।

मञ्चले भनेको छ, ‘त्यतिले नपुगेर छलफलको क्रममा धेरै तनावका कारण बेहोस भएकी महिलालाई प्रहरीले पीडकसँगै अस्पताल पठायो ।

यता कालिमाटी प्रहरीले भने महिलासेल महिलाको निम्ति भएको र उतै केस चलेको हुँदा आफूहरुले मिलापत्रको निम्ति कुनै दबाब नदिएको जनाएको छ । प्रहरीले भनेको छ, ‘हाल बच्चा जन्मिसकेको र आफ्नो स्वास्थ्यसमेत खासै राम्रो नभएका कारण महिलाले दुबै जाहेरी फिर्ता लिन खोजेकी छिन् ।’

महिलाले जाहेरी फिर्ता लिन गरेको कुराकानीको प्रमाण आफूहरुसँग रहेको जनाउँदै प्रहरीले भनेको छ, ‘दर्ता नै नभएको जाहेरी गायब गर्यो भन्न मिल्दैन । प्रहरीलाई बदनाम गराउन मात्र यस्तो आरोप लगाइएको हो ।’

प्रहरीले एनजिओको नाममा खाइजीविकाका अनेक खेती गर्ने संगठनहरु छ्याप्छाप्ती रहेको र तिनले लगाएका बतासे आरोपको कुनै तुक नरहेको दाबी गरेको छ । उसले परिआए आफूसँग रहेका प्रमाणहरु सार्वजनिक गर्न तयार भएको समेत बताएको छ ।

टिप्पणीहरू