अन्तिम अस्त्र, अन्तिम अवसर « Jana Aastha News Online
Logo
२१ आश्विन २०७९, शुक्रबार
|  Fri Oct 7 2022
Logo
२१ आश्विन २०७९, शुक्रबार
|  Fri Oct 7 2022

अन्तिम अस्त्र, अन्तिम अवसर

प्रकाशित मिति :  २९ बैशाख २०७५, शनिबार ०९:४६


  • कृष्णमुरारी भण्डारी

कांग्रेसले सान्दर्भिकता गुमाइसक्यो भन्दा मित्रहरू भन्ने गर्छन्–तिमी पनि कांग्रेसको उछित्तो काड्न थाल्यौ हैन ? व्यक्तिगत रूपमा कांग्रेसले तिम्रो के बिगारेको थियो र ओह्रालो लागेको मृगलाई लखेट्न लाग्यौ ?

 साथीहरूको कुरा सुनेर दिक्क लाग्छ । कांग्रेस यस्तो डेमोक्रेटिक पार्टी हो, जो आलोचना पटक्कै पचाउन सक्दैन अथवा हरेक आलोचनामा वामपन्थी भूत मात्र देख्छ ! आलोचनाको पछाडि केही कारण हुन सक्छ भन्ने सोचसम्म पनि किन पलाउँदैन ? किन कांग्रेसी अरूको विचारलाई सम्मान गर्न सक्दैनन् ? तर्कद्वारा आफ्नो विचारलाई पुट दिन र अरूका विचारसँग शास्त्रार्थ गर्न सक्दैनन् ? के यिनको दर्शन र सिद्धान्त नै छैन ?

आफ्नो कार्यक्रमद्वारा किन अरूको कार्यक्रमलाई निस्तेज बनाउने हुति राख्दैनन् र दोषारोपण गर्न थाल्छन्–यो कम्युनिष्ट विचार हो, यो माक्र्सवादी सोच हो, यो लेनिनवादी शैली हो भन्ने आरोप लगाउँदै पन्छिन खोज्छन् ? मानौं कांग्रेसी विचार राजा महेन्द्रको जस्तै हावा, पानी र माटो सुहाउँदो स्वदेशी जनाधार भएको पञ्चायती व्यवस्था हो ! जसमा विदेशी विचारको पित्कोसम्म छैन !

कांग्रेस सत्ताबाट बाहिरिनु र खुमबहादुर खड्काको निधन लगभग सँगसँगै भयो । खड्काको निधनमा देशभरका कांग्रेसीले न भूतो न भविष्यती अब यस्तो जेहेन्दार नेता जन्मिन सक्दैन भनेर खुबै रोइलो गरे । (परिवारका लागि उनको मृत्यु ज्यादै दुःखद हो भन्ने कुरालाई यहाँ कम आँकिएको होइन) ।

सञ्चारमाध्यममा खड्काको प्रशंसा र उनले गरेको योगदानको महŒवमाथि प्रकाश पार्दै समवेदनाको बाढी नै लाग्यो, मानौं उनको निधनबाट मुलुकमा नेतृत्व शून्यता छायो । कांग्रेस टुहुरो भयो । कांग्रेसले महामानव गुमायो र अब परिपूर्ति नै हुन सक्दैन । अपूरणीय क्षति भयो ।
तर, दोहो¥याइरहन पर्दैन, खुमबहादुर भ्रष्टाचार आरोपमा अदालतबाट दण्डित कुख्यात मन्त्री हुन् । फौजदारी अभियोगमा न्यायालयबाट दण्ड, जरिवाना र कारावासमा परेका व्यक्ति हुन् । उनीजस्तै झण्डै अदालतको पकडमा परेका अरू पनि बदनाम चेहरा कांग्रेसमा बग्रेल्ती छन् ।
तर, कांग्रेसका स्वनामधन्य नेता किन कहिल्यै कांग्रेसलाई ०४७ सालदेखि जीवित राख्ने उदारवादी अर्थतन्त्रका नायक डा. रामशरण महतका नीति र कार्यक्रमको भरथेग रहेको हो भनेर स्विकार्न सक्दैनन् ?

वास्तवमा खुलाबजार अर्थतन्त्र नै कांग्रेसले नेपालमा अगाडि बढाएको मौलिक कार्यक्रम हो जसका कारण प्रजातन्त्रकालका उतार चढाव, माओवादी सशस्त्र द्वन्द्वको कठिन समय, राजा ज्ञानेन्द्रको निरंकुशकाल, लोकतन्त्र र गणतन्त्रको संक्रमणकाल हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको आजको दिनसम्म पनि मुलुक र सर्वसाधारण जनतालाई भाइब्रेट गराइरह्यो ।

राजनीतिक रूपमा पनि डा. महत कांग्रेसलाई अहिलेको दुर्गतिबाट पार लगाउन सक्ने काविल राजनीतिक अर्थशास्त्री हुन्, जेन्युइन कांग्रेस हुन्, लाहुरे र कुलिन कांग्रेस होइनन् । तर, महतको कमजोरी के भने, यी दाह्रीवाल पार्टीमा राजनीतिक स्थान ‘एसर्ट’ गर्न सक्दैसक्दा रहेनछन् । पत्नीको साससँगै होस गुमाएका महादेवलाई जसरी स्वस्थानी व्रतकथामा देवताले चाल चलेर किरा उत्पन्न गरी सतीदेवीको देह पतन गराए, त्यसैगरी डा. महतले आँट गरेर हरेस खाने अवस्थामा पुगेका नयाँपुस्ताका कांग्रेसीहरूलाई नयाँ नीति, कार्यक्रम र योजनासहितको नयाँपन पार्टीमा ल्याउने नयाँ जबर्जस्त अभियानको नेतृत्व गर्ने आँट गरे भने बेलायतमा टोनी ब्लेयरले दशकौंदेखि सत्ताको मुख नदेखेको लेबर पार्टीमा नयाँ जीवन शुरु गरेजस्तै भौंतारिएका वामपन्थी, नयाँशक्ति, विवेकशील साझा, मधेशी र अन्य अनगिन्ती लोकतान्त्रिक भन्ने दल, व्यक्ति, समूह र संगठनलाई एउटै प्लेटफर्ममा ल्याएर नयाँ नेपालमा नयाँ लोकतान्त्रिक कांग्रेसको शुरुवात गर्न सक्ने देखिन्छ ।

कांग्रेस प्रतिपक्षमा बस्नुपरेकोमा जुन रोइलो मच्चाइरहेछन्, यसको कारण न बीपीले, न गणेशमानले र न त कृष्णप्रसाद भट्टराईले नै आएर दिन सक्छन् ! उनीहरू शारीरिक रूपमा मात्र बिदा भएका होइनन्, विचारका हिसाबले पनि आउटडेटेड भइसकेका छन् !

नेतात्रयले नभनी कुनै कांग्रेसी अरूले भनेको पत्याउँदा पनि पत्याउन्नन् । पत्याउन् पनि कसरी ? कांग्रेसको असली विधानमा बहुदलीय प्रजातन्त्र, संसदीय व्यवस्था र संवैधानिक राजतन्त्र जो लेखिएको छ तर मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र बनिसकेको छ । कहाँ, कसरी तालमेल मिलाउने ? कांग्रेसमा अन्योल र अलमलै व्याप्त छ ।

त्यसैले अहिले पनि कांग्रेसी संघीय लोकतान्त्रिक गणतन्त्रमा सहजतासँग भिज्नै सकेका छैनन् । ०१७ सालदेखि ३० वर्ष कांग्रेस जुन विधान बोकेर बस्यो अहिले पनि प्रत्येक कांग्रेस बिपीको नाम लिएर, त्यसैलाई सिरानी हाल्न खोजिहाल्छ । महामानव हिजो कति समसामयिक थिए र आज छन् ? यो सवाल दोहो¥याउने अवगाल आजसम्म कुनै कांग्रेसीले पनि गर्दैन । यति रूढीग्रस्त र पुरातनपन्थी छन्, आजका कांग्रेसी ।
राजा र पञ्चले अराष्ट्रिय तŒव र वामपन्थीले राजासँग घाँटी जोडिएको पगरी नै किन नगुताउन् ! जेनतेन सास धानेर भए पनि कांग्रेसी बसिरहे । वामपन्थीको सशक्ततामा भए पनि ०४६ सालयता लामो समय कांग्रेस नै सत्तामा बस्यो । दुई पल्ट त एक्लै बहुमतको सरकार बनाउने अभिमत जनताले कांग्रेसलाई दिए । त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताले कांग्रेसलाई किनारा लगाए पनि सत्ता छाडेको तीन महिना भएको छैन, कांग्रेसमा देखिएको भयंकर छटपटी छताछुल्ल भइरहेछ ।

सत्ताबाट झर्दा, लाग्छ कांग्रेस त्यसैगरी लट्ठिएको छ, जसरी समुद्र मन्थनबाट निस्किएको विष पिएपछि भगवान् शिवजी रन्थनिएका थिए । शिवजीले विषको प्रभाव कम गर्न चिसो पानी पिएर गोसाइँँकुण्डमा धेरै वर्ष सुते र विष समन गरे । तर, कांग्रेस त तीन महिना पनि रानीपोखरीमा सुत्न सकेन, उसलाई कालकुटको होइन, सत्ताको मात लागेकाले त्यो जँड्याहाजस्तो देखिँदै छ, जतिबेला पनि मलाई ले, मलाई ले मात्र भनेको सुनिँदै छ । वास्तवमा सत्ता कांग्रेसका लागि कालकुट विष ठानेर कलियुगको शिवजी बन्न आँआँ गर्दै हिँड्न थालेको देखिँदै छ । मानौं, उसले सत्ता खान पाएन भने सत्ताको राप र तापले नेपाल भन्ने देशलाई कांग्रेसबाहेक अरू कसैले सञ्चालन नै गर्न सक्दैन ! कांग्रेसी यही कोकोहोलो गर्दै दन्त्यकथाको ‘बिसेमिरा’ कहिलेसम्म दोहो¥याइरहलान् ? कांग्रेसी सांसदले अन्तिम अस्त्रको रूपमा बलात्कारी, भ्रष्टाचारी, अपराधी गुण्डा, फिरौती, ज्यानमुद्दा लागेका सांसदलाई निलम्बन गर्ने नियमावलीविरुद्ध माओवादी, मधेसवादीलाई पनि सहमत गराउँदै संसद्बाट पास गराउन खोजेका छन् । उनीहरूले सोचेका छन्, यो नै अन्तिम अस्त्र हो जसबाट फौजदारी मुद्दा लागेकाहरूको साथ लिएर कांग्रेस ब्यँुताउन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !