वीरेन्द्रको नासो अन्ततः बिक्री

राजा वीरेन्द्रले चढ्ने गरेको र वर्तमान राष्ट्रपति तथा सेनाका परमाधिपति विद्यादेवी भण्डारीले पनि मन पराउनुभएको रोमियो अल्फा गल्फ कलसाइनवाला फ्रेञ्च सुपर पुमा हेलिकप्टर सेनापति राजेन्द्र क्षेत्रीको कार्यकाल रहुञ्जेल अर्थात् भदौसम्म रोक्न रोक्न लागिएकोमा रोमियो अल्फा जुलियट कल साइनको अर्को हेलिकप्टरसँगै चीन सरकारलाई बेचिएको छ ।

स्रोतका अनुसार ती दुवै हेलिकप्टर आजभोलि नै गन्तव्यतर्फ उड्दै छन् । सेनाका पूर्वजर्नेल तथा पाइलट गुञ्जमान लामा र हवाई क्षेत्रका डन आङछिरिङ शेर्पाको पहलमा यी दुई हेलिकप्टर कौडीको भाउमा फुत्काउन छिमेकी राष्ट्र सफल भएको हो । नयाँ किन्दा एउटैको झण्डै दुई अर्ब पर्ने यी हेलिकप्टर जम्मा ३३ करोडमा किनेर चीनले आगलागी नियन्त्रणको काममा प्रयोग गर्न लागेको छ । काठमाडौंबाट उडेका जहाज ढाका हुँदै लाओस, भियतनामको आकाश भएर तेस्रो दिन चीन पुग्दै छन् । यसलाई रोक्न र पहिल्यै भइसकेको सम्झौता रद्द गराउन यसबीच निकै माथापच्ची भएको रक्षा स्रोतले बताएको छ । तर, एक अमेरिकन व्यापारीसमेत यो कारोबारको बीचमा दलाल रहेकाले उनले जहाज खरिद बिक्रीको यो प्रक्रिया रद्द भयो भने चीन र अमेरिकाले नेपाललाई दिँदै आएको सबै खाले सहयोग स्थगित हुन्छ भन्दै दलालहरूमार्फत प्रधानमन्त्री कार्यालयलाई धम्की दिएपछि जहाज रोक्ने प्रयत्न असफल भएको बताइन्छ ।

यसरी दलालको सक्रियता र माफियाको चक्रव्युहमा परेर नेपाली सेनाका जहाजहरु सकिन लाग्दै छन् । अमेरिकाले दिने भनेको चारवटा स–साना जहाज पनि सन् २०२२ नभई नेपाल नआउने पक्का छ । सम्झौताअनुसार पोहोरभित्रै सबै जहाज आउनुपर्ने थियो तर अमेरिकाले मुखले मात्र ठिक्क पारेको व्यहोरा राष्ट्रपतिसमक्ष पुगिसकेको छ । उता भारतले ६० प्रतिशत अनुदानमा नेपाललाई बेचेको दुईवटा हेलिकप्टर पनि भैरवनाथ गणमा लगेर त्यत्तिकै झुण्ड्याइ राखिदिएको छ । सेनाको जहाजको संख्या घट्दो देखेपछि रक्षामन्त्री ईश्वर पोखरेल किन यस्तो भयो भन्ने खोजीमा लागेको बताइन्छ । उता भूकम्पपछिका सारा पुनर्संरचनालगायत विकास निर्माणका काममा समेत सेनापतिका पुत्र र पत्नीको चासोले रक्षामन्त्री पोखरेललाई गाह्रो पारेको खबर छ ।

टिप्पणीहरू