तक्माको कुराले राति ठूलै तनाव

‘यदि यही गर्ने हो भने यो विभूषण, पुरस्कार भन्ने सबै चिज खारेज गरौँ’ भनेर सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा चर्किएपछि प्रधानमन्त्री केपी ओलीले गृहमन्त्रीतिर हेर्दै भने, ‘सेना, पुलिस र निजामतीको सिफारिस कामका आधारमा गर्नुस्, अरुको हकमा चिनिएका व्यक्तिको ल्याए हुन्छ । नचिनिएको मान्छेको पृष्ठभूमि, कार्यक्षेत्र र कामको प्रभावकारिता बुझेरमात्रै ल्याउनुस् ।’ यसमा गृहमन्त्री रामबहादुर थापा (बादल) ले मुन्टो हल्लाएरै सहमति जनाए ।

सरकारले दिने मान, पदवी, अलंकार र विभूषणमा फेरि पनि मनलाग्दी प्रस्ताव हुन थालेपछि सोमबार रातिको मन्त्रिपरिषद् बैठकमा यी प्रसंग उठेका हुन् । विगतका सरकारले फौजदारी अभियोग लागेका, फरार अभियुक्त, पिआर, ग्रीनकार्ड, भारतीय रासनकार्डधारी देखि नैतिक पतन र चारित्रिक प्रश्न उठेका समेतलाई पदक र विभूषण दिएको दृष्टान्त एकाएक क्याबिनेटमा पेश भएपछि यस्तो गलफत्ती चलेको हो । कांग्रेसको राजनीतिमा सक्रिय, रिता खनाललाई खेलाउनुसम्म खेलाएर मुद्दा–मामिला पनि झेलेका र जापानको दोहोरो नागरिकता भएको भनी विवादमा परेका कपिलदेव थापालाई समाजसेवीका रुपमा दोहोरो पदक दिनका लागि गृहबाट प्रस्ताव पुगेको थियो । कपिलजस्ता एक दर्जन बढी विवादास्पद व्यक्ति सिफारिसमा देखिएपछि मन्त्रिपरिषद्ले प्रस्ताव स्थगित गरेको छ ।  

मन्त्रीको अनुपस्थितिबिना महŒवपूर्ण प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएपछि कृषि तथा भूमिसुधारको अर्को फाइल पनि फिर्ता भएको छ । भूमिसुधारले राजगुठीहरुलाई कानुनी दायरामा ल्याउनका लागि कानुनबाट सहमति लिएर प्रस्ताव लगेको थियो । प्रस्तावमा भनिएको छ, ‘राज्यको सबै क्षेत्रमा छरिएर रहेका गुठीहरुलाई कानुनी दायरामा ल्याउन, निजी गुठीबाहेक अन्यलाई सार्वजनिक सम्पत्ति बनाउन, सार्वजनिक स्थलमा रहेका देवालय, मठमन्दिरमा चढाउने सबै प्रकारका नगदी वा जिन्सीलाई सार्वजनिक सम्पत्ति बनाउन, गुठीका नाममा भोगाधिकार भएका किसान र गुठीका हक अधिकारसमेत सुनिश्चित गर्न संघीय कानुन बनाउन आवश्यक भएकोले…।’ तर, प्रधानमन्त्रीले विभागीय मन्त्रीको उपस्थिति नभई यस्ता काम नगरौँ भनेपछि उक्त प्रस्ताव अर्को बैठकमा पेश हुने भएको छ ।

त्यस्तै, प्रधानसेनापति राजेन्द्र क्षेत्री र बलाध्यक्ष रथी हेमन्तराज कुँवरले निजी खर्चमा आ–आफ्ना श्रीमतीलाई भ्रमणमा लैजान पाउने गरी पाकिस्तान भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । त्यसमा प्रमुख सेनानी माधव थापा, सहसेनानी (स्टाफ अफिसर) सुनीलजंग पाण्डे र अर्की सहसेनानी श्रेया रायमाझी पनि रहेकी छन् ।

बैठकले अवकाशप्राप्त प्रमुख सेनानी प्रद्युनभक्त महर्जनलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नत गरी पदस्थापनको निर्णय गरेको छ । अरु चार प्रमुख महासेनानीको सरुवा स्वीकृत भएको छ । स्थपति निर्देशनालयका शारदामान श्रेष्ठ सुन्दरीजल आर्सनलस्थित इञ्जिनियरिङ विभागमा, उमेशकुमार यादव स्वयम्भू बारुदखानामा, कमलविक्रम शाह एसइएसबाट स्थपति सहनिर्देशकमा, सञ्जय श्रेष्ठ सैनिक सामाग्री उत्पादन निर्देशनालयबाट सुन्दरीजल आर्सनलमा सरुवा भएका हुन् ।

त्यस्तै, बैठकले नेपाल र सर्बियाका कूटनीतिक राहदानी र विशेष राहदानीवाहकलाई भिसा छूट दिने सहमतिमा हस्ताक्षर गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अनुमति दिएको छ । सर्बियाकी उपप्रधान तथा परराष्ट्रमन्त्री लिभिका डेसिस नेपालको भ्रमणमा आएको बेला उक्त हस्ताक्षर हुने भएको हो  ।

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जाने नेपाली श्रमिकहरु अलपत्र हुने स्थितिको अन्त्य गर्न श्रम मन्त्रालयले विदेशी रोजगारदाताले कामदार माग गर्नुपूर्व सम्बन्धित देशमा रहेको नेपालको कूटनीतिक नियोगबाट स्वीकृत गराउनुपर्ने निर्देशिका जारी गर्न स्वीकृति पाएको छ । यसअनुसार, अब नेपाली कामदार विदेश जाँदा एयरपोर्टमै अलपत्र पर्ने स्थितिको अन्त्य हुने छ ।

सामान्य प्रशासन मन्त्रालयले पशुसेवा विभागका कर्मचारी लंकनारायण श्रेष्ठलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोगका लागि लगेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । 

टिप्पणीहरू