पार्टी हार्ने,नेताहरु जितेको स्वाङ पार्ने

पार्टी हार्ने,नेताहरु जितेको स्वाङ पार्ने

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले हिजो राजीनामा दिएसँगै मुलुककै सबैभन्दा ठूलो दल नेकपा एमाले सबैतिर प्रतिपक्षमा पुगेको छ । आफू नेतृत्वको सरकारको अन्तिम मुख्यमन्त्रीका रुपमा आचार्यले हिजो पद गुमाएसँगै एमाले पूर्ण प्रतिपक्षमा पुगेको हो ।

असारमै संघीय सरकारबाट बाहिरिएको एमालेले त्यसयता एकपछि अर्को प्रदेश सरकारको नेतृत्व गुमाउनु परेको हो । एमालेले यसअघि नै गण्डकी,लुम्बिनी र बागमती प्रदेश सरकारबाट हात धुनु परेको थियो ।

गत संघ तथा प्रदेशको निर्वाचनमा माओवादी केन्द्रसँग गठवन्धन गरेर चुनावमा होमिएको एमालेले संघीय सरकार र चार वटा प्रदेशमा सरकारको नेतृत्व गर्ने हैसियत बनाएको थियो । वाम गठवन्धनले हासिल गरेको त्यहि मतको जगमा पाँच वटा सरकारको नेतृत्व गरेको एमाले आफ्नै कारणले तीन वर्षमै सत्ताबाट बाहिरिनुपरेको हो ।

निर्वाचनमा वाम गठवन्धनले पाएको सफलतापछि एमाले र माओवादी मिलेर नेकपा बनेको थियो । त्यहि जगमा संघमा अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाएको एमालेले प्रदेश १,बाग्मती,गण्डकी र लुम्बिनी प्रदेशमा पनि आफ्नो नेतृत्वमा सरकार बनाउन सकेको थियो । यो तथ्यलाई पन्छाएर पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन नसक्दा एमालेको सत्तायात्रा अल्पकालमै टुंगिएको हो ।

एमालेले एकपछि अर्को सरकारको नेतृत्व गुमाउनुमा बाह्यभन्दा आन्तरिक कारण नै मुख्य रहेको विभिन्न तथ्यहरुले पुष्टि गरिसकेका छन् । एमालेको ओरालो यात्राको प्रस्थान बिन्दु नै पार्टी विभाजन हो । तत्कालीन नेकपाको अन्तरसंघर्षको सही व्यवस्थापन हुन् सकेको भए सायद आज पनि पाँच वटै सरकारको नेतृत्वमा एमाले नै रहने थियो ।

गत वर्षको भदौमा तत्कालीन नेकपाको स्थायी कमिटी वैठकले अन्तरसंघर्ष व्यवस्थापनको महत्वपूर्ण उपाय सुझाएको थियो । उक्त वैठकले ओलीले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने र पार्टीको कार्यकारी भूमिकामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहने निर्णय गरेको थियो । तर, आफ्नै अध्यक्षतामा बसेको बैठकको निर्णयको मसि सुक्न नपाउँदै ओलीले अपानीमा हस्ताक्षेर गर्न आनाकानी गरेपछि संघर्षको अर्को चरण शुरु भएको हो ।

त्यसैको सहउत्पादनका रुपमा प्रतिनिधिसभा विघटनलगायत त्यसयताका घटनाक्रमहरु विकसित हुँदै गएका हुन् । आफ्नो राजनीतिक प्रतिष्ठाका लागि ओलीले जानाजान शक्ति संघर्ष चर्काएकाले अहिलेको अवस्था सृजना भएको धेरैको विश्लेषण छ ।

प्रदेश १ र बाग्मतीमा एकल बहुमतमा रहेकाले एमाले विभाजनमात्रै रोक्न सकेको भए यी दुई प्रदेशमा उसैको नेतृत्वको सरकार रहने अवस्था थियो । तर, आफ्नै कारणले त्यो सम्भावनाको समेत अब अन्त्य भैसके छ ।

अहिले अवस्था कस्तो बनेको छ भने, एकातिर विशाल कम्युनिष्ट पार्टी तीन चिरा भएको छ, अर्कोतिर सबैभन्दा ठूलो दल भएर पनि एमाले सबै सरकारको नेतृत्वबाट बिदा हुनुपरेको छ । मुलुकको प्रधानमन्त्री र नेकपामा आफूलाई प्रथम अध्यक्ष दावी गर्ने ओलीले पार्टीभित्रको शक्ति सन्तुलनको ख्याल गर्न नसक्दाको परिणाम अहिले एमालेले भोग्दैछ ।

सुदूरपश्चिम र प्रदेश २ बाहेक सबै प्रदेश र संघमा समेत ठूलो दल हुँदाहुँदै पनि एमाले प्रतिपक्षमा पुग्नुको कारण ओली कार्यशैलीविरुद्ध उभिएको पाँचदलीय गठवन्धन नै हो । एमालेको सत्तायात्रामा पूर्णविराम लाग्नुमा ओलीको असहिष्णु कार्यशैली नै बढी जिम्मेवार रहेको विश्लेषण स्वयं एमालेकै नेताहरुले गरेका छन् ।

नाम उल्लेख नगर्ने शर्तमा एक नेता भन्छन्, ‘नेकपा मिलाउन सकेको भए आज यो अवस्था आउने थिएन । पछि एमाले मात्रै फुट्नबाट जोगाउन सकेको भए पनि प्रदेक्क्ष १ र बाग्मतीमा हाम्रो सरकार रहन्थ्यो । राजनीतिक रुपमा यो ठूलो क्षति हो। नेतृत्वले यसलाई गम्भीर ढंगले अझै लिएको छैन । यो दुखद कुरा हो ।’

तत्कालीन गण्डकी प्रदेशका मुख्यमन्त्री पिएस गुरुङ्गले त सार्वजनिक रुपमै ओलीप्रति असन्तुष्टि पोख्नुभएको थियो । ओलीले गरेका गल्तिको भागिदार आफू हुनुपरेको गुरुङको गुनासो थियो ।

आफ्नो सत्ता टिकाउन ओलीले अनेक षड्यन्त्र र अनावश्यक चलाखी गरेको र त्यो नै एमालेको ओरालो यात्राको कारण बनेको एकथरिको वुझाई छ । चलाखी कतिसम्म भने, बागमती र प्रदेश १ को सरकार जोगाउन तत्कालीन माधव नेपाल समूहभित्र खेलेर आफ्नो पल्लाभारी पार्ने ओलीको रणनीति थियो ।

केही नेतालाई विभाजनबाट रोक्न सके पनि उक्त रणनीति पूरै कामयावी भने हुन् सकेन । बरु दुवै प्रदेशमा दुई महिनाको अन्तरालमा एमालेका चार जना मुख्यमन्त्रीले राजीनामा दिएर हिंड्नु पर्ने अवस्था बन्यो ।

‘किन चाउरिस मरिच आफ्नै रागले’ भनेजस्तै आफ्नै कारणले एमालेले अहिलेको नियति भोग्नुपरेको विश्लेषकहरु बताउने गर्छन् । अरुको अस्तित्व स्वीकार नगर्ने र सत्तामा रहिरहन अनैतिक कसरत गर्ने ओलीको कार्यशैलीका कारण पछिल्लो अवस्था निम्तिएको उनीहरुको बुझाइ छ ।

टिप्पणीहरू