सर्वोच्चको विवादबारे कानुनमन्त्रीले मुख खोले

सर्वोच्चको विवादबारे कानुनमन्त्रीले मुख खोले

न्यायालयमा देखिएको पछिल्लो विवादबारे सरकारले मुख खोलेको छ । सरकार र राजनीतिक दलहरु मौन रहँदा विवाद थप जटिल बनेको कानुन व्यवसायीहरुले बताइरहँदा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले न्यायपालिकाभित्र देखिएको समस्याको समाधान त्यहिँभित्रबाट खोजिनुपर्ने बताउनुभएको हो ।

मन्त्री बडूले स्वतन्त्र न्यायपालिकाभित्र देखिएका समस्या ऊ आफैंले समाधान गरोस् भन्ने जनताको अपेक्षा रहेको तर्कसमेत गर्नुभयो । मंगलबार काठमाडौंमा आयोजित सञ्चारसम्बन्धी कानुनका विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले न्यायपालिकाका कारण जनताको न्याय पाउने अधिकार हनन् हुन नदिन भने सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।

‘संविधानसम्मत ढंगले न्यायपालिकाले दिनुपर्ने जनताको न्यायमा कहीँ कतै अवरुद्ध हुने हो कि भन्ने जनतामा चिन्ता देखिन थालेको छ । त्यसलाई समयमै व्यवस्थापन गर्न हामी तयार छौं’, उहाँले भन्नुभयो, ‘तर त्यो समस्याको समाधान हामी अहिले पनि के भन्न चाहन्छौं भने–स्वतन्त्र न्यायपालिकाभित्र उब्जिएको समस्या स्वतन्त्र न्यायपालिकाभित्र नै यथासम्भव छिटो समाधान होस् भन्ने चाहना हामी सबैको छ । जनताको अपेक्षा पनि त्यहि छ ।’

न्यायालयमा देखिएको विवाद संविधानको सीमा र जनअपेक्षाअनुरुप समाधान खोज्नुपर्नेमा पनि मन्त्री बडूले जोड दिनुभयो । ‘अहिले न्यायालयभित्र भइरहेको समस्याका कारणले जनतामा एउटा चिन्ता देखिएको छ ।

तपाईंहरुलाई थाहा छ–हामी संविधानका कुरा गरिरहेका छौं–संविधानले हाम्रो सीमा तोकेको छ । स्वतन्त्र न्यायपालिकालाई हामी त्यत्तिकै सम्मान गर्छौं । जनताको अन्तिम न्याय पाउने थलो पनि त्यही हो । जनताको त्यो विश्वास, जनताको त्यो आस्थामा कुनै कमी आउन दिनु हुँदैन’, उहाँले भन्नुभयो ।

स्वतन्त्र न्यायालयमा समस्या देखिँदा त्यसप्रति चिन्ता लाग्नु स्वभाविकै भएको मन्त्री बडूको भनाइ छ ।

टिप्पणीहरू