‘बा’ भन्दै प्रधानमन्त्रीको नाम बेच्दा

‘बा’ भन्दै बालुवाटारमा थुप्रिनेहरुको हिजोआज विजोग छ । दोस्रोचोटि केपी ओली प्रधानमन्त्री भएर बालुवाटार छिरेलगत्तै अघिल्लो कार्यकालमा ‘बा–बा’ भन्दै झ्याम्मिनेहरुलाई बाटोबाटै बिदा गर्न निर्देशन दिइएपछि बालुवाटार त्यस्ता मानिसहरुबाट मुक्त भएको हो ।

ओली बिरामी हुँदा वा एक्लो महसूस गर्दा निकटस्थका बालबच्चासँग रमाउन शौखिन छन् । तर, प्रधानमन्त्री हुँदा त्यस्ता शौख पूरा हुँदैन । बरु, हैरान पारेका छन्, ‘बा’ भन्नेहरुले । उदाहरणका लागि, भर्खरै अखिल अध्यक्ष नवीना लामाले गृहस्थी जीवन शुरु गरिन् र सांसद पनि भइन् । संगठनको अध्यक्षका रुपमा सक्रिय हुन नसक्ने भएपछि आफ्नो जिम्मेवारी कसलाई दिने भन्नेबारे सल्लाह गर्न भित्र छिर्न खोजिन्, तर समय पाइनन् । बरु, खबर गयो, ‘अखिलको कार्यबाहक अध्यक्ष मैले बनाउनुपर्ने भए पहिल्यै मैँ अध्यक्ष हुन्थेँ, किन तपाईंलाई बनाउनुपथ्र्यो ?’ उक्त जिम्मेवारीका लागि उपाध्यक्ष सुनीता बरालको दौडधुप राम्रै थियो, तर ‘मियाँका दौड मस्जिद तक’ भनेजस्तो तीन नम्बर गेटबाट निजी सचिवालयसम्म मात्रै पुग्यो ‘बा’ भन्नेहरुको बथान । ‘बा’ बाट लाइन नपाएपछि उपाध्यक्ष रश्मी आचार्य र शैलेश लामाको डिजाइनमा नवीनाले महेश बर्तौलालाई आफ्नो अनुपस्थितिमा संगठन चलाउने जिम्मा दिइन् । यसो गर्दा मर्कामा परे, ऐन महर । उनी अर्कोपटक अध्यक्ष बनाइने शर्तमा उपाध्यक्षबाट झरेर महासचिव बनाइएका थिए । नवीना पनि पहिला उपाध्यक्षबाट महासचिवमा झारिँदा त्यही शर्त थियो, अध्यक्ष बनिन् पनि । तर, ‘बा’ भन्नेलाई बाटोमै रोक्नु भन्ने निर्देशनको मार खेपे ऐनले । उनका लागि महेश बस्नेत, निरु पालहरुले पनि भनसुन गर्न चाहे, तर प्रमले सुनेनन् । खासमा अध्यक्षका बलिया दावेदार ऐन नै हुन् । तर, ऐनलाई अहिल्यै ब्लक गरेन भने रश्मीको बाटो बन्द हुन्छ भनेर नवीनालाई प्रयोग गरिएको चर्चा छ ।

प्रधानमन्त्रीको सचिवालयमा नियुक्तिको आश मारेका छैनन्, इन्द्र भण्डारी र रमेश भट्टराईहरुले । तर, बालुवाटार छिर्ने अनुमति अहिलेसम्म पाएका छैनन् । प्रहरीसामु प्रधानमन्त्रीको नाम लिने बानी परेका पिताम्बर तिम्सिनाको पछाडि त मान्छे नै लगाइएको चर्चा छ बालुवाटारमा । यी त सानातिना काम–कुरा भए । रोइकराई गरेर सांसद बनाइएकी कमला ओलीले सांसद भएलगत्तै अजेयराज सुमार्गीसँग पैसाको डिल गरेको सूचना पाएपछि प्रधानमन्त्री फायर छन् । यस्तो कुरा सुनेपछि प्रधानमन्त्रीका एकजना विश्वासिला व्यक्तिमार्फत सुमार्गीकहाँ भेरिफाई गर्न लगाइयो । सुमार्गीले आफ्ना लागि मात्र नभएर साथीभाइका लागि पनि सहयोग गर्ने प्रस्ताव ल्याएको सुनाए । कमलाले चाहिँ आफू कानुन व्यवसायी भएको र त्यही आधारमा उनीसँग सम्पर्क हुने सुनाइन्, तर बालुवाटारले पत्याएको छैन । यसको मार कमलालाई मात्र हैन, पति कर्ण थापालाई पनि  परेको छ । उनी पनि प्रमलाई ‘बा’ भन्नेमा पर्छन् । त्यसमाथि अहिले त कर्ण पीडित पनि हुन् । ७ नं. प्रदेशको मुख्यमन्त्री हुनका लागि समानुपातिकतर्फ लडे, पछि सांसद नै हुन नसकेपछि कुरै खत्तम । यिनले पनि भेट्न समय मागेका छन्, तर पाएनन् ।

०७२ को कार्यकालका जनसम्पर्क सल्लाहकार देवेन्द्र दाहाल सचिवालयकै कारण ओली यसचोटि असफल हुने भनी अन्तर्वार्तामै बोल्न थालेका छन् । नियुक्तिको आश भने मारेका छैनन् । देवराज घिमिरेलाई झुलाएको महिनौँ भइसक्यो । अहिले त्यहाँ ओलीको बेडरुमसम्म पुग्ने इजाजत राजेश बज्रचार्य, विष्णु रिमाल, अच्युत मैनाली र राजन भट्टराईलाई मात्र छ । विष्णुले सत्ता गठबन्धन, राजनीतिक मामिला हेर्ने, अच्युतले पार्टी च्यानलबाट आएका कुरा प्रधानमन्त्रीकहाँ पु¥याउने, राजनले विदेशमा पनि विशेषतः भारत मामिलामा अपडेट गराउने जिम्मा पाएका छन् । प्रेसको टीमै छ, कुन्दन अर्याल, रामशरण बजगाईं र चेतन अधिकारीको । आइटीमा अजगर अली, फोटोमा कृष्ण पौडेल, भेटघाट कन्ट्रोल गर्नेमा दीपेन्द्र दाहाल छन् । यी सबैलाई भनिएको छ, ‘गलगाँडहरुलाई भिœयाउने होइन ।’
धेरै नेताको असहमतिका बाबजुद पनि सांसद बनाइएकी निरुदेवी पालको फेरि अर्को उजुरी परेको छ, केही व्यक्तिलाई मन्त्री बनाउन पहल गर्ने आश्वासन दिएको । अघिल्लो पटक जनसम्पर्क विज्ञ हुँदा उनीमाथि आर्थिक मामिलामा प्रश्न उठाइएको थियो । राष्ट्रपति हुनुपूर्व विद्या भण्डारीबाटै गाली खाएकी थिइन् । पिए रमेश आचार्य त जिम्मेवारीबाट सम्पूर्ण रुपमा हटाइए । बालुवाटार छिर्न रोकिएका अर्का छन्, अञ्जान शाक्य र गोविन्द थापा । अघिल्लो कार्यकालमा अञ्जान विज्ञको रूपमा सचिवालयमा थिइन् । यसचोटि पति अजयक्रान्तिलाई प्रदेश सांसद बनाइएपछि उनले पाउने सबै कोटा पूरा भएको छ । तर, उनीमार्फत प्रमसँग भेट्न चाहनेहरुले पनि अहिले समय पाएका छैनन् । अर्का पार्वत गुरुङ हुन्, ‘बा’ भन्दै पुग्ने । दोलखाबाट सांसद जितेर आएलगत्तै यति एयरलाइन्सका आङछिरिङलाई बोकेर पर्यटनमन्त्री बन्न बालुवाटार छिरे, त्यसपछि दोहो¥याएर उनलाई प्रवेश गराइएको छैन । त्यसबेला ओलीले पार्वतलाई हैन, आङछिरिङलाई हप्काए, ‘प्रधानमन्त्री म हो कि तपाईं ? मन्त्री मैले बनाउने कि तपाईंले ?’

टिप्पणीहरू