कर्णालीमा काँग्रेसका शाहीद्वारा मुख्यमन्त्रीमा दाबी पेश

कर्णालीमा काँग्रेसका शाहीद्वारा मुख्यमन्त्रीमा दाबी पेश

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता जीवनबहादुर शाहीले दाबी पेश गर्नुभएको छ । निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजो राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्री पदमा काँग्रेस संसदीय दलका नेतासमेत रहनुभएका जीवनबहादुरले आज दाबी पेश गर्नुभएको हो ।

चार दलीय गठबन्धनका तर्फबाट बहुमत सांसदको हस्ताक्षरसहित जीवनबहादुरले केही बेरअघि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नुभएको हो । उहाँलाई काँग्रेसका ६, माओवादी केन्द्रका १२ र एकीकृत समाजवादीका ३ गरी २१ सांसदले समर्थन गरेका छन् ।

हाल ३५ सदस्यीय कायम रहेको प्रदेशसभामा सरकार गठनका लागि १८ सांसदको समर्थन आवश्यक हुन्छ । शाहीको पक्षमा २१ सांसदले हस्ताक्षर गरेकाले उहाँ मुख्यमन्त्री नियुक्त हुने निश्चित छ ।

माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आलोपालो सरकारको नेतृत्व गर्ने पूर्वसहमति अनुरुप हिजो राजीनामा दिनुभएको थियो ।

टिप्पणीहरू