नाइँ भन्न नसकेर नेपाल फर्किएँ…

नाइँ भन्न नसकेर नेपाल फर्किएँ…

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडी र समर्थकहरुलाई नार्ईं भन्न नसकेर नेपाल फर्किएको बताएका छन् । आज दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा अल्मुताइरीले अञ्जन विष्ट, आयुष घलान, किरण चेम्जोङ, मनिष डाँगीलगायतका खेलाडीको नाम लिँदै यस्तो बताएका हुन् ।

साफ च्याम्पिनसिपको फाइनलअघि राजीनामा घोषणा गरेर नेपाल नफर्किने बताएका अब्दुल्लाहले नेपाली खेलाडी र समर्थकबाट पाएको मायाले आफूलाई नेपाल आउन प्रेरित गरेको बताए । ‘के कुराले नेपाल फर्किन प्रेरित गर्यो ?’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘सबै खेलाडीले मसँग कुरा गरेका छन्, स्टाफले पनि कुरा गरे, मैले उनीहरूलाई नाइँ भन्न सकिनँ ।’

अब्दुल्लाहले आगामी दिनमा राष्ट्रिय टिममात्र होइन, यु २३, महिला, यु १९ टिममा पनि परिवर्तन गर्ने प्रतिबद्धता समेत जनाएका छन् । तर त्यसका लागि आफूलाई काम गर्ने मौका र समय चाहिने उनको भनाइ छ ।

सन् २०२२ मा आफूले तीन चरणमा काम गर्ने बताउँदै उनले पहिलो चरणमा एसियन कप छनोटको योजना सार्वजनिक गरे । यसका साथै उनले फिफा विन्डोमा आफूभन्दा बलियो टिमसँग मैत्रीपूर्ण खेल खेल्ने पनि उल्लेख गरे । सुरुवाती दुई विन्डोमा कोसँग खेल्ने भन्ने तय भइसकेको बताए पनि अब्दुल्लाहले टिमको नाम भने खुलाउन चाहेनन् ।

यस्तै, अब्दुल्लाहले कुनै पनि व्यक्तिले खेलाडी वा आफ्नो टिमबिरुद्ध उत्रिएको खण्डमा त्यसको जवाफ समर्थकले दिने पनि बताए । आफू नयाँ योजनाका साथ आएको र सबैले मिलेर यसलार्ई अझ बलियो बनाउन आवश्यक रहेको उनको धारणा छ ।

टिप्पणीहरू