नाकाबन्दीको गुन, अभिनन्दनको धुन

  • सुशील पन्त

आगामी वर्ष सन् २०१९ मा हुने संसदीय निर्वाचनमा भाजपाको विजय र दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने बर माग्न नेपाल आउन लागेका ‘धार्मिक पर्यटक’ नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गरिँदै छ । उनी आउने भनेपछि काठमाडौंका सडक टालिएका छन् । अरूबेला काम नगरी तलब खाइरहेका नगरपालिकाका कर्मचारीदेखि राजपाका नेता राजेन्द्र महतोसम्म सडकमा कुचो लिएर सफाइमा जुटेका छन्, मोदी स्वागतको खातिर । मोदीलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गर्ने सरकारी तरखरबीच आमनागरिकमा भने एउटा प्रश्न उब्जेको देखिन्छ, नागरिक स्तरमा अभिनन्दन गर्नलायक मोदीले के योगदान गरेका थिए ?

पहिलो भ्रमणताका संसद्मा गरेको संबोधनमा जस्तै सायद मोदीले यसपटक पनि केही गुलिया आश्वासन दिनेछन् । संसद्को रोस्ट्रममा उभिएर मोदीले दुई शब्द नेपालीमा बोली झुटा आश्वासनका पुलिन्दा बाँड्दा हाम्रा सांसदले बानेश्वरका सडकमा कान सुन्निने गरी ताली बजाए, बेञ्च ठटाए । त्यो संसद् संबोधनमा मोदीले के मात्र भन्न छुटाएका थिए र ? पानी र जवानीका कुरा गरे । नेपालका जडीबुटी नेरु र भारुमा होइन डलरमा बेच्ने कुरा गरे । नेपाललाई गौतमबुद्धको देश भने, ती कतिदिन टिके ? भारतमा गएर गौतमबुद्ध उतै जन्मेका हुन् भने । यसपटक दिल्ली–काठमाडौं रेल र पानीजहाजको कुरा गरेर ‘रलल्ल’ बनाउने होलान् ।

बिरामीको औषधि र स्लाइन पानीसमेत बन्द गर्नेगरी नेपालमाथि नाकाबन्दी लगाइएको तीन वर्ष पूरा भएको छैन । ०७२ असोज ३ गते नेपालले संविधान जारी गरेको निहुँमा ६ गतेदेखि नै नाकाबन्दी थोपरिएको थियो । औषधि, खाना पकाउने इन्धनलगायत अत्यावश्यक सामानमाथि गरिएको त्यो क्रूर नाकाबन्दीको त्रासदी नमेटिँदै मोदीलाई तामझामपूर्ण स्वागत गरिएकोमा आमजनको मन खुस छैन । नेपाल भ्रमणमा आउन चाहने छिमेकी देशका प्रधानमन्त्रीलाई स्वागत गर्नु सरकारको दायित्व हो, कूटनीतिक परम्परा पनि हो । गत वर्ष मात्र दोक्लम क्षेत्रमा युद्ध भड्किने अवस्था थियो तर दुई सातापहिले मात्र चिनियाँ राष्ट्रपति सी जिनफिङले यिनै मोदीलाई न्यानो स्वागत गरे । उसो त चीनसँग भारतको ‘वाकयुद्ध’ मात्र भएको थियो, न चीनले, न भारतले एकअर्कोमाथि नाकाबन्दी थोपरेका थिए । भूकम्पले थिलथिलो भएको नेपालमा लगाइएको नाकाबन्दीको पीडा यो पुस्ताले चाहेर पनि बर्सन सक्दैन । आमजनको प्रश्न छ, त्यत्रो अमानवीय नाकाबन्दीबारे माफी नमागी नागरिक अभिनन्दन गर्न मिल्छ ?

मोदी भ्रमणको सुरक्षा अवस्था मजबुत बनाउन जनकपुर गएका गृहमन्त्री रामबहादुर थापाले भ्रमण ‘धार्मिक’ हुने भनेका छन् । सामान्यतया विदेशी प्रधानमन्त्रीले अर्को देशको भ्रमण गर्दा राष्ट्रिय ध्वजाबाहक विमान प्रयोग गर्छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने परम्परा छ । तर, मोदी लडाइँमा प्रयोग हुने सेनाको हेलिकोप्टर प्रयोग गरेर ‘जस्केला’ ढोकाबाट नेपाल प्रवेश गर्दै छन् । कूटनीतिक मामिलाका जानकारहरूका अनुसार बाह्य देशको प्रधानमन्त्रीले अरू देशको भ्रमण गर्दा राजधानीबाट थाल्ने प्रचलन छ । मोदी सीधै जनकपुर आउँदै छन् । उनले आफूलाई कूटनीतिक सीमाभन्दा माथि राख्न खोजेको देखिन्छ । प्रदेश २ को सरकारलाई काबुमा राख्न खोजिँदै छ । प्रदेश सरकारले पनि मोदीको अभिनन्दनमा ‘अतिरिक्त’ चासो देखाइरहेको छ ।

जनकपुरमा गरिने अभिनन्दनमा उनलाई श्रेष्ठतम मानव मूल्यमा आधारित राजनीतिक संस्कृतिको उद्घोषक तथा युग पुरुष, संघीय गणतन्त्रात्मक लोकतन्त्रको ‘लौह ध्वजाधारी’ र पौरवर्तय मनिषी परम्पराका मनस्वी साधकजस्ता कैयौं उपमा र विशेषण दिइएको छ । गुनगान गाइएको अभिनन्दन पत्रमा लेखिएको छ, ‘अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा तपाईंको अरूणोदयले युद्ध तथा आतंकको भयावह स्थितिमा थरथर काम्नेहरूको प्राणको कणकणमा अजश्र आशा र ऊर्जाको किरण पल्लवित भएको छ, त्यो भारतीय उपमहाद्वीपको इतिहासको यो स्वर्णिम अध्याय हो ।’ के मोदी साँच्चिकै महामानव नै हुन् ? मोदीको प्रशंसा र चाकडीमा यी शब्द खर्चिंदा नाकाबन्दीको समयमा औषधि नपाएर तड्पिएका आत्माले के भन्लान् ? भारतले गैरकानुनी ढंगले बनाएका बाँधको डुबानले रातभर पानीमा बसेका वृद्धवृद्धाको आँसु थामिएला ?

मोदीको चाकडी यत्तिमा सीमित छैन । ‘प्राचीन ऋषि परम्पराको तपाईं गौरवपूर्ण विभूति हुनुहुन्छ । तपाईंको रोमरोमबाट जसरी कुनै ऋचा अनवरत उत्सर्जित हुन्छ, मानव मंगलका लागि, हामी तपार्इंको प्रत्येक पाइलामा सँगै छौं’, अभिनन्दन पत्रमा लेखिएको छ, ‘नेपाल–भारतबीच धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध छ, श्री रामको युगदेखि अहिलेसम्म हाम्रो सम्बन्ध अक्षुण्ण छ, अहिलेसम्म संसारमा यस्तो कुनै हतियार बनेको छैन जसले हाम्रो भावनात्मक सम्बन्धको डोरीलाई काट्न सकोस् ।’ यी शब्द लेख्नेहरूले भारतले गरेको त्यो पीडादायी नाकाबन्दीलाई कति छिटो बिर्सन सकेका ।

नेपालमाथि भएको नाकाबन्दीको विषयलाई लिएर भारतीय संसद्मा छलफल भयो, उताका सांसदले नेपाली जनताको पक्षमा बोले । तर, त्यत्रो नाकाबन्दीको विषयमा नेपालको संसदले एक शव्द बोलेन । नारायणमान बिजुक्छेको पार्टीले नाकाबन्दीबारे संसद्मा छलफल गर्न पटक–पटक माग ग¥यो तर ठूला दलले सुनेको नसुन्यै गरे । भारतीय थिचोमिचो त्यत्तिमा सीमित छैन । सीमा क्षेत्रका जनता भारतीय थिचोमिचो र भारतीय सीमा सुरक्षाबल एसएसबीको ज्यादतिबाट प्रताडित छन् । भारतबाट नेपाल आउने कामदार सीमापारि लुटिन्छन् ।

नाकाबन्दीपछि नेपालका तीन जना प्रधानमन्त्रीले भारत भ्रमण गरे । तीनै जनाले भारतसँग विगतका तिक्तता मेटिएको दाबी गरे । भर्खरै प्रधानमन्त्री केपी ओलीको भ्रमणपछि सम्बन्ध सुधार भएको ठानिए पनि भारतले नेपाललाई हृदयदेखि सहयोग गरेको छैन । नेपालमा चिनियाँ प्रभाव रोक्न सहयोगको अभिनय गरे पनि भारतले साँचो अर्थमा नेपाललाई सहयोग गर्न चाहेकै छैन । भारतले आकाशमा पनि कञ्जुस्याइँ ग¥यो भनेर स्वयं ओलीले ५ नम्बर प्रदेशसभा बैठकमा बोलेका थिए । कुनै लगानी गर्नु नपर्ने ‘एयर स्पेस’ दिन कञ्जुस्याइँँ गर्ने भारतले नेपालमा रेल कुदाइदेला भनेर धेरै मख्ख नपरे हुन्छ । जनताले मन नपराएको मोदीको ‘नागरिक’ अभिनन्दनमा शब्दकोष रित्याएर अभिनन्दन गर्ने तयारी गर्दै गर्दा भोलिको दिनलाई सोचौं ।

टिप्पणीहरू