बधाई माननीयज्यू !

अब माननीय सांसदज्यूहरूले जस्तोसुकै ठूलो अपराध गरे पनि उहाँहरूको पद नगुम्ने भएको छ । यसका लागि सम्पूर्णलाई बधाई ! आखिर उहाँहरूले जनताका लागि केही उपलब्धि हासिल गर्न नसके पनि आफ्ना लागि त यति उपलब्धि प्राप्त गर्नुभयो नि ! यो उपलब्धिका लागि उहाँहरू जम्मै बधाईको पात्र हुनुहुन्छ ।

पहिले–पहिले कुनै सांसदले बलात्कार, हत्या, भ्रष्टाचारजस्ता ठूला अपराध गरे पद स्वतः गुम्ने व्यवस्था थियो । अब सांसद भएरै बलात्कार, हत्या, भ्रष्टाचारजस्ता कार्य गर्न उहाँहरूलाई छुट भएको छ ।

बलात्कार, हत्या, लुटपाटजस्ता कार्य गर्नाले उहाँहरूको इज्जत गुम्न सक्छ, प्रतिष्ठा गुम्न सक्छ, सम्मान गुम्न सक्छ तर सांसद पद भने कुनै हालतमा गुम्नेवाला छैन । अब सांसद पद नगुमेपछि इज्जत, प्रतिष्ठा, सम्मान–फम्मान जस्तो कुरा गुमे पनि के भयो र ? सांसद पद नै आफूसँग रहने भएपछि यो इज्जत, प्रतिष्ठा, सम्मानको के काम ? उहाँहरूलाई चाहिने त सांसद पद न हो । त्यो नगुम्ने भएपछि अरू जेसुकै गुमोस्, छु मतलव ! होइन र ?

टिप्पणीहरू