एमालेका सबै सरकार सकिए,१ नम्बरमा पनि गठबन्धनको दावी

एमालेका सबै सरकार सकिए,१ नम्बरमा पनि गठबन्धनको दावी

एकीकृत समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ । ५० सांसदको हस्ताक्षरसहित पाँचदलीय गठबन्धनका तर्फबाट राईले १ नम्बरका प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।

आज मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न भोलि दिउँसो १ बजेसम्मको समय दिनुभएको थियो । त्यसलगत्तै गठवन्धनका तर्फबाट राईले बहुमत सांसदको हस्ताक्षरसहित दावी पेश गर्नुभएको हो ।

९२ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन जरुरी हुन्छ । कांग्रेसका २१,नेकपा माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन र संघीय लोकतान्त्रिक मञ्चको एक जनासहित जम्मा ५० जना सांसद राईको पक्षमा छन् ।

यसअघि एकल बहुमतको सरकारको नेतृत्व गरेको एमाले भने पार्टी विभाजनपछि ४१ संसदमा सीमित बनेको छ । राप्रपाका एकमात्र सांसद भने दुवै पक्षमा खुलिसकेका छैनन् ।

टिप्पणीहरू