१० लाख फलोअर

पुरानो सरकारका प्रधानमन्त्री र नयाँ शक्ति अध्यक्ष डा. बाबुराम भट्टराईलाई ट्विटरमा फलो गर्नेहरूको संख्या ठ्याक्कै १० लाख पुगेछ । आफ्नो फलोअर संख्या यति पुगेको खुसियालीमा उहाँले सबैलाई धन्यवाद दिनुभएको छ ।

१० लाख सानो संख्या होइन । यति धेरै संख्यामा फलोअर हुनु पनि सानो कुरा होइन । वास्तवमा डा. भट्टराईको कुनै कुरा सानो छैन । फलोअर संख्या ठूलो भएजस्तै उहाँको विचार ठूलो छ, योजना ठूलो छ, दृष्टि पनि ठूलो छ । सानो कुनै छ भने त्यो पार्टी मात्रै हो । पार्टी अत्यन्तै सानो छ । जम्मा एक जना सांसद भएको पार्टी ! त्यो पनि राष्ट्रिय होइन ।

ट्विटरको फलोअर १० लाख भएजस्तै पार्टीको फलोअर १० हजार जति भइदिए कति जाति हुन्थ्यो ? तर के गर्नु, भइदिएन । फलोअर धेरै भएर पार्टी ठूलो हुने होइन क्या र ! पार्टी ठूलो हुन त कार्यकर्ता धेरै हुनुपर्छ । उहाँको समस्या नै यही हो । कार्यकर्ता धेरै हुनुपर्ने ठाउँमा फलोअर धेरै भइदिन्छन् । भोटर धेरै हुनुपर्ने ठाउँमा ट्विटर धेरै भइदिन्छ । निर्वाचन आयोगले भोटर मात्र होइन ट्विटर धेरै हुनेलाई पनि राष्ट्रिय पार्टी बनाउने घोषणा अहिलेसम्म गरेको छैन । अब केही गरी डा. भट्टराई पुनः प्रधानमन्त्री बन्नुभयो भने यस्तो पनि व्यवस्था गर्ने हो कि हेल्लो सरकार ?

टिप्पणीहरू