चाडबाडसँगै बढ्यो प्रहरी सक्रियता

चाडबाडसँगै बढ्यो प्रहरी सक्रियता

चाडबाडको समयमा अपराधका घटना बढ्ने गर्छन् । चोरी, डकैती, कालाबजारी, जुवातास तथा सट्टाबाजी, जबरजस्ती करणीलगायतका घटना यस अवधिमा वृद्धि हुने गरेको पछिल्ला वर्षको तथ्याङ्कले समेत छर्लङ्ग पार्ने गरेको छ । चाडबाडको समयमा हुने यस्ता अपराधिक घटनालाई निरुत्साहित गर्न आफूहरु निरन्तर लागेको नेपाल प्रहरीले जनाएको छ ।

आज जनआस्थासँगको कुराकानीमा नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले चाडबाडका समयमा हुने विकृति न्यूनीकरणमा प्रहरी लागिपरेको बताउनुभएको हो । प्रवक्ता कुँवरले दशैं अगाडिबाट नै चाडबाडका समयमा हुने अपराधका घटना न्यूनीकरणमा प्रहरीले महत्वपूर्ण भूमिका खेल्दै आएको समेत बताउनुभएको छ ।

उहाँले विशेषगरी तिहारको समयमा बजारमा गुणस्तरहीन सामाग्री बिक्री वितरण गर्ने, मध्यरातसम्म द्यौसी भैलो खेल्नेक्रममा जबरजस्ती करणीका घटना बढ्ने गरेको विगतको उदाहरण दिनुभएको छ । यो बेलामा जुवातास तथा सट्टाबाजीका घटनामा समेत वृद्धि हुने बताउँदै उहाँले यसो हुन नदिन प्रहरीले सक्दो प्रयास गर्दै आएको जानकारी गराउनुभएको छ ।

कुँवरले पर्यावरण तथा स्वयम् व्यक्तीलाई नै असर पार्ने खालका बिस्फोटक पदार्थको बिक्री वितरण गर्ने पसलहरुमा छापा मार्ने कामसमेत शुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पटका पड्काउन प्रतिबन्ध भएकाले यसो गर्नेलाई कानुनीरुपमा कारबाही हुनेछ ।’

तिहारको समयमा भारतबाट अवैधरुपमा भित्रिएका पटकाहरु पनि प्रहरीले बरामद गरेको छ । प्रहरीले तिहारमा सुरक्षित रहन सर्वसाधारणमा सूचना जारी गर्दै आएको छ । यसपटक पनि द्यौसी भैलो तोकेको समयमा मात्र खेल्न आग्रह गर्ने बताइन्छ ।

टिप्पणीहरू