फेरि आलोचना

कांग्रेसमा फेरि विवाद चर्किएको छ । अहिलेको विवाद पदाधिकारी मनोनयनमा केन्द्रित छ । सभापति शेरबहादुर देउवाले हालै पार्टीका पदाधिकारीहरू मनोनयन गर्नुभयो । मनोनयन गर्नेबित्तिकै उहाँको आलोचना सुरु भइहाल्यो ।

अस्तिसम्म पदाधिकारी मनोनयन गरेन भनेर आलोचना हुँदै थियो । अहिले मनोनयन गर्दा आलोचना भएको छ । होइन, यो कांग्रेस नेताहरूको चाला के हो ? मनोनयन गरे पनि रिसाउने, नगरे रिसाउने । पार्टीको महाधिवेशन भएकै त्यत्रो दिन भइसक्यो, पदाधिकारी नै मनोनयन गर्न सकेन भनेर आलोचना भयो । त्यसपछि उहाँले रातारातै पदाधिकारीहरू मनोनयन गर्नुभयो । उपसभापति, महामन्त्रीजस्ता खाली पदमा पूरै मनोनयन गर्नुभयो । जसै मनोनयन सकियो, फेरि आलोचना सुरु हुन थाल्यो । म त चकित छु ।

हैन यो आलोचना गर्ने नेताहरूले खोजेको के हो हँ ? आफैं पदाधिकारी मनोनयन गर भन्ने । अनि मनोनयन गरिसकेपछि आफैं किन गरिस् भन्ने ?

अस्ति एउटा भाषणमा उक्त पार्टीका युवा नेता गगन थापाले भन्नुभएको थियो, केपी ओलीको सरकारले राम्रो काम गरोस्, हामी कहीँ पनि आलोचना गर्दैनौँ । उहाँले त्यसो भन्नुको कारण अहिले पो थाहा भयो । कांग्रेसलाई यतिबेला एक आपसको आलोचना गर्दैमा फुर्सद भए पो सरकारको आलोचना गर्नु ! आफंै आलोचना गर्दैमा फुर्सद छैन, सरकारको आलोचना कुन बेला गर्नु ?

टिप्पणीहरू