खाने ठाउँको सधैं खोजी

भद्रकालीतिर जात्रा छ । गाई मारेर गधा पोसेको आरोपमा नेपाल टेलिकमका प्रमुख कामिनी राजभण्डारीलाई हटाउने तयारी चल्दै छ । त्यही आडमा रहेको खाद्यसंस्थानमा चाहिँ कामिनीझैं  अयोग्य र भ्रष्टाचारको बात लागेर डामिएका एक जना व्यक्ति फेरि महाप्रबन्धक बन्ने र अकुत कमाउने ध्याउन्नमा शक्तिकेन्द्र धाउँदै छन् ।

कतै पद खाली भएको देखे कि आवेदन बोकेर पुगिहाल्ने माहिर खेलाडी हुन् शिवहरि श्रेष्ठ । यसअघि खाद्यमै रहँदा अनियमितता गरेको आरोपमा गलहत्याइएका उनी पुनः महाप्रबन्धक बन्न पाऊँ भन्दै आवेदन हाल्न पुगेका छन् । उनै श्रेष्ठले बिमा संस्थानको प्रमुखका लागि समेत केहीअघि दरखास्त आवेदन हालेका छन् । साउन १८ गतेदेखि खाद्य संस्थान महाप्रबन्धकविहीन छ । त्यहाँ उपभोक्ता हित संरक्षण विभागका कुमार दाहालले नै खाद्य संस्थान हेर्नेगरी चैत १८ गतेसम्म कार्यभार सम्हालेका थिए । उनलाई व्यापारीको दबाबमा मन्त्रालयमा मात्र तानिएन, सोमबार १८ भाइ सहसचिव सरुवा हुँदा यताबाट विराटनगर महानगरपालिकाको कार्यालयमा धपाइएको छ ।

अहिले खाद्य संस्थान योगेन्द्र गौचनले हेर्दै आएका छन् । खाद्य संस्थान र उपभोक्ता हित संरक्षण विभागको कार्यालय एउटै भवनमा भएका कारण बिहान १० बजेदेखि दुई बजेसम्म विभाग र बाँकी दुई बजेदेखिको समय खाद्य संस्थानमा बिताउँदै आएका छन् । मासिक ५६ हजार तलबमा भत्तासमेत जोड्दा झण्डै एक लाख हाराहारी कमाउन पाइने हुँदा खाद्य संस्थानको महाप्रबन्धक बन्न आवेदन दिनेको संख्या २३ पुगेको छ ।  पहिलो चरणमा भगवान् झा, कृष्णबहादुर घिमिरे, शिवप्रसाद मिश्र, गोकुलप्रसाद धिताल, सुन्दरराम बोहरा, अभिषेक कुमार ठाकुर, शिवहरि श्रेष्ठ, कृष्णकुमार राई थिए भने दोस्रो विज्ञापनमा आवेदन पेस गर्नेमा विनोदकुमार यादव, कीर्तिराज सुवेदी, लवराज जोशी र सुशील कोइराला थिए । यस्तै, तेस्रो विज्ञापनमा सुमन अधिकारी, रमेश लम्साल, विनोदकुमार जोशी, अनिलकुमार झा, रामदेव यादव, जनककुमार बराल, मनप्रसाद न्यौपाने, ई हरेराम शर्मा, सन्तोष पौडेल, मोहनप्रकाश चन्द र देवीप्रसाद बरालले आवेदन हालेका छन् ।

टिप्पणीहरू