भीम आचार्यको राजीनामासँगै एमालेका मुख्यमन्त्री सकिए

भीम आचार्यको राजीनामासँगै एमालेका मुख्यमन्त्री सकिए

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिनुभएको छ । एमाले विभाजनका बेला कित्ता बदलेर नाटकीय ढंगले मुख्यमन्त्री बन्नुभएका आचार्यले सत्तारोहणको ६८ दिनमै पद त्याग गर्नुभएको हो ।

आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । भदौ २ गते नै एमाले औपचारिक रुपमा विभाजित भए पनि प्राविधिक कारण देखाएर आचार्यले एकल बहुमतको सरकारको नेतृत्व गर्नुभएको थियो । त्यसयता सरकार टिकाउन गरेका सबै प्रयास असफल हुँदा अन्ततः उहाँ राजीनामा दिन बाध्य हुनुभएको हो ।

संविधानअनुसार सरकारको नेतृत्व गरेको दल विभाजन भएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने भए पनि आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची थियो । तर, विपक्षी काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा सरकारविरुद्ध एकै ठाउँमा उभिएपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने सम्भावना थिएन । त्यसैकारण उहाँले विश्वासको मतसम्बन्धी प्रस्तावलाई प्रदेशसभा बैठकमा निर्णयार्थ पेश गर्नुअघि नै राजीनामा दिनुभएको हो ।

एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहका प्रभावशाली नेतासमेत रहनुभएका आचार्यलाई संस्थापन पक्षले आश्चर्यजनक रुपमा मुख्यमन्त्रीका लागि बाटो खोलेको थियो । पार्टी विभाजनमा सांसदहरुलाई एकीकृत समाजवादीमा जानबाट रोक्न तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गराएर आचार्यलाई मुख्यमन्त्री बनाइएको थियो ।

९२ सदस्यीय प्रदेशसभामा विपक्षी गठबन्धनमा आबद्ध काँग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना सांसद छन् । एकल बहुमतको सरकार चलाइरहेको एमालेसँग ४१ सांसद छन् । नयाँ सरकार गठन गर्न वा मुख्यमन्त्रीले विश्वासको मत पाउन ४७ सांसदको समर्थन आवश्यक हुन्छ ।

आचार्यको राजीनामासँगै अब विपक्षी गठबन्धनलाई सरकार बनाउने बाटो खुलेको छ । गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीमा अगाडि सारेको छ ।

टिप्पणीहरू