सिद्राको व्यापार नहोस् है श्रीमान्

अहिले जताततै मोदीको चर्चा छ । हुन पनि भारतीय प्रधानमन्त्रीले दशकौंसम्म नेपालको भ्रमण नगर्ने तर नेपाली प्रधानमन्त्रीले शपथ खाएजस्तै अनिवार्य रूपमा उता जानै पर्ने अवस्था रहिआएकोमा क्रमभंग गर्दै ३ वर्षको अवधिमा तेस्रोपटक उनी नेपाल आउँदै छन् ।

नेपालले नसोचेको बेला निकै आक्रामक भएर नाकाबन्दीको तहसम्म उत्रिएका मोदीले आफ्नो गल्ती सच्याउने प्रयासस्वरुप यो भ्रमण गरेकामा दुईमत छैन । छिमेकीसँग पञ्चशीलमा आधारित सम्बन्ध राख्ने नेपालको परराष्ट्र नीति रहेकाले यस्तो भ्रमणलाई अन्यथा ढंगले व्याख्या गर्नु वा बुझ्नु पनि औपचारिक रूपमा गलत ठहर्छ । तर, फेरि पनि मोदीको जनकपुर भ्रमण र त्यसको तयारी क्रममा देखिएका केही दृश्यले भने कतै अनर्थ पो लाग्छ कि भन्ने चिन्ता हो । यसका लागि आधार निर्माण हुनु आफैंमा राम्रो होइन । हुन त सम्बन्धलाई सहजीकरण गर्न धार्मिक भ्रमण गर्ने अन्तर्राष्ट्रिय प्रचलन पनि छ । तर, अहिले त्यो हदसम्म पूरै तिक्ततापूर्ण सम्बन्ध भने दुई देशबीच छैन । त्यसो त नेपालीले मोदीको नाकाबन्दीलाई सहज रूपमा पचाए र भारतलाई घुँडा टेक्न बाध्य पार्ने संयमता प्रदर्शन गरे ।

यसैमा उनीहरू  मख्ख छन् र एक ढंगले मोदी सरकारलाई भुलमा माफ गरिसकेका छन् । तर, जनकपुरलाई केन्द्रमा राखेर भारतीय प्रधानमन्त्रीले नेपाली भूमि टेक्दै गर्दा कतै प्रदेश २ र मधेसवादी दललाई पुनः नेपालमा अस्थिरता निम्त्याउन उत्प्रेरित गर्ने पहलकदमी त हँुँदै छैन भन्ने आशंका उठ्नु अस्वाभाविक हुँदैन । तथापि के कुरामा ढुक्क हुन सकिन्छ भने मधेसका जनता नयाँ परिवेशमा उद्वेलित बन्ने र यो मुलुकको विकास र समृद्धिमा बाधक बन्ने राष्ट्रघाती काममा सक्रिय बन्ने छैनन् । यदि, पर्दापछाडि यस्तो प्रयत्न हुँदै गरेको भए पनि त्यो अवश्य असफल हुनेछ । नयाँ संविधानलाई पूर्णरूपमा कार्यान्वयन गर्ने सन्दर्भमा तीनवटा महŒवपूर्ण निर्वाचन सम्पन्न भई तिनले नेपाललाई नयाँ युगमा पदार्पण गराएको छ ।

विगतमा भएका कतिपय आन्दोलनले नेपाललाई अग्रगतिमा लग्यो भने यसबीच पश्चगामी यात्रा सुरु गराउने अनेकौं प्रयास पनि देशी÷विदेशी शक्तिकेन्द्रबाट भए । यस्तो पृष्ठभूमिमा अब हामीले विगतलाई ताजा पारेर नयाँ सन्दर्भको विश्लेषण गर्नु हुँदैन । नेपालका प्रधानमन्त्रीको छिमेक भ्रमण र छिमेकी राष्ट्र प्रमुखहरूको नेपाल भ्रमणले द्विपक्षीय हित, समृद्धि, विकास, विश्वास र क्षेत्रीय एकतालाई नै अझ मजबुत बनाउनेछ भन्ने विश्वास गर्नुपर्छ । जनकपुरधाम, मुक्तिनाथ धामको यात्रा गर्ने गरी नेपाल आउन लागेका मोदीले विगतका गल्तीको प्रायश्चित गरुन् । नेपालीलाई अनाहक दुःख दिएकामा भगवान्समक्ष क्षमायाचना गरुन् र पशुपतिको जात्रा सिद्राको व्यापार नगरुन् ! हाम्रो यही कामना छ, स्वागत छ, छिमेकी मुलुकका महामहिम प्रधानमन्त्रीलाई !

टिप्पणीहरू