पृथ्वीराजमार्गमा स्वागत लिँदै हिँडेका केपी ओली किन बोलेनन् ?

पृथ्वीराजमार्गमा स्वागत लिँदै हिँडेका केपी ओली किन बोलेनन् ?

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीराजमार्गका मुख्य मुख्य बजारहरुमा रोकिए । नेता आउने खबर पाएपछि कार्यकर्ताले हतार हतार तयार पारेको फूलमाला थाप्न पनि भ्याए । तर,मन्दिरमा फूल चढाएजसरी सिनियर कार्यकर्ताले पहिर्याइदिएको खादा र माला गलामा थाप्दै हिँडेका ओलीले केही बोल्न भने भ्याएनन् ।

चितवन जाने क्रममा धादिङको धार्के,महादेववेसी,गल्छी,मलेखु, बेनीघाटलगायतका बजारहरुमा रोकिएका थिए । मुग्लिनमा पनि करिब १० मीनेट रोकिए, तर सम्बोधन गरेनन् ।

‘फुल सेक्युरिटीसहित सवार ओली गाडीबाट उत्रिए,खादा र माला पहिरिए, बाइबाइ गर्दै गाडी चढेर गए’ महादेववेसी र गल्छीको स्वागतमा सहभागी एकजना नेताले भने–‘किन केही बोल्नुभएन, थाहा छैन ।’ रोकिएका स्थानहरुमध्ये गल्छीमा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम तय भएपनि गाडीबाट बाहिर निस्किएको केही मीनेटमै पुनः गाडी चढेर हिँडेका थिए । बिहान ८ बजेदेखि सम्बोधनको समाचार संकलन गर्न कुरेर बसेका पत्रकार पनि कुरेको कुर्यै मात्र भए ।

दुईदिने चितवन बसाइका क्रममा सोमबार उनी केही नेताहरूसहित काठमाडौंदेखि चितवन गएका हुन् । दासढुंगादेखि प्रस्तावित अयोध्याधामसम्म पुग्ने कार्यक्रम छ ।

टिप्पणीहरू